काठमाडौं । नैतिकता र इमानदारिताको अभाव झल्किने नेपाली राजनीतिमा आफ्नो हातमै आएको पद पार्टीको हितका लागि त्याग गर्न सक्ने नेता विरलै देखिन्छन्। यही सन्दर्भमा नेपाली काँग्रेसका युवा नेता बाबुराम आचार्य पछिल्लो समय राजनीतिक वृत्तमा उदाहरणीय पात्रका रूपमा प्रस्तुत भएका छन्। काठमाडौँ–१ बाट सङ्घीय सांसद बन्ने बलियो सम्भावना हुँदाहुँदै पनि उनले पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आफ्नो उम्मेदवारी फिर्ता लिए।
केही समययता काठमाडौँ–१ बाट बाबुराम आचार्य राष्ट्रिय चर्चामा थिए। नेपाली काँग्रेसका संस्थापक नेता गणेशमान सिंहका पुत्र तथा चारपटक सोही क्षेत्रबाट निर्वाचित भइसकेका ‘हेभीवेट’ नेता प्रकाशमान सिंहलाई टक्कर दिँदै आचार्य प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएपछि उनको चर्चा सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडिया र स्थानीय चिया पसलसम्म फैलिएको थियो। स्वार्थरहित राजनीति र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने नेता भन्दै उनले काँग्रेसका युवा कार्यकर्ता र सर्वसाधारणको उल्लेखनीय समर्थनसमेत पाएका थिए।
स्थानीय नेता–कार्यकर्ताको दबाबपछि काठमाडौँ–१ मा आचार्यलाई टिकट दिनुपर्ने माग तीव्र बनेको थियो। स्थानीय मतदाताहरूले आचार्यले टिकट पाए अत्यधिक मतले जित्ने आँकलन गरिरहेका थिए। स्थानीय मतदाता सुमन शर्मा पोखरेल भन्छन्, “बाबुराम दाइले टिकट पाएको भए जित निश्चित थियो।” काँग्रेस कार्यकर्ता माधव कोइरालाको भनाइ पनि उस्तै छ—“उहाँले त्याग गर्नुभयो, त्यो देश र पार्टी दुवैले सम्झनुपर्छ।”
तर पार्टीको आन्तरिक विवाद र विशेष महाधिवेशनपछिको समीकरणले परिस्थिती मोडियो। अन्ततः न प्रकाशमान सिंहले टिकट पाए, न बाबुराम आचार्यले। यसले कार्यकर्तामा निराशा बढाएको स्थानीयहरूले बताएका छन्। त्यसपछि आचार्यले सर्वसाधारणको सुझावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए।
यद्यपि, पार्टीका क्षेत्रीय सभापति प्रकाश विक्रम राणा, प्रदेश सांसद दीपेन्द्र श्रेष्ठ, पार्टीका केन्द्रीय नेताहरू, आधिकारिक उम्मेदवार प्रबल थापा तथा देश–विदेशका काँग्रेस नेता–कार्यकर्ताको आग्रहपछि आचार्यले बागी उम्मेदवारी फिर्ता लिए। पार्टी सभापति गगन थापा, महामन्त्री गुरुराज घिमिरेलगायतसँगको संवादपछि पार्टी एकताका लागि उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिएका हुन्।
युवा नेता सरोज राना मगर भन्छन्, “पार्टीको उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नु बाबुराम आचार्यको ठूलो त्याग हो। काँग्रेसले यसलाई सम्मान गर्नुपर्छ।”
२५ वर्षदेखि काँग्रेसको सक्रिय राजनीतिमा रहेका आचार्य पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालासँग नजिक रहेर काम गरेको अनुभव बोकेका नेता हुन्। उनले कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता नेताहरूको त्यागबाट प्रेरणा लिएको बताउँछन्।
“म स्वतन्त्रबाट पनि जित्न सक्थें,” आचार्य भन्छन्, “तर ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को अभियानलाई प्राथमिकता दिँदै व्यक्ति होइन, पार्टी जिताउनुपर्ने निष्कर्षमा पुगेँ।”
राजनीतिक विश्लेषकहरूका अनुसार आचार्यको यो कदमले उनी आजको उम्मेदवारभन्दा भोलिको नेता भएको सन्देश दिएको छ। अध्ययनशील, सिद्धान्तनिष्ठ र युवामैत्री छविका कारण उनी भविष्यमा काँग्रेसको प्रभावशाली नेतृत्वमा देखिने सम्भावना बलियो रहेको विश्लेषण छ।
उनका सचिवालय सदस्य अमृत आचार्य भन्छन्, “उम्मेदवारी फिर्ता लिएर उहाँले गरेको त्याग इतिहासले सम्झनेछ। काँग्रेसले भविष्यमा उहाँलाई कस्तो भूमिका दिन्छ, त्यो भने प्रतीक्षाको विषय हो।”





















प्रतिक्रिया