Logo

राजनीति

सुदूरपश्चिमका १६ क्षेत्रमा बालेन्द्र : बोलेनन्, घण्टी बजाए, फर्किए



अछाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार अछामका मंगलसेन, कमलबजार र विनायकमा घण्टी बजाउँदै सुदूरपश्चिम भ्रमण सकेका छन् ।

शुक्रबार दिउँसो अछामको विनायकमा घण्टी बजाएसँगै उनले सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा पुग्ने अभियान पूरा गरेका हुन् ।

सुदूरपश्चिम भ्रमणको पहिलो दिन शाहले कैलालीका पाँच र कञ्चनपुरका तीन गरी आठ निर्वाचन क्षेत्र पुगेका थिए । दोस्रो दिन उनी डडेलधुरा, बैतडी र दार्चुला पुगेपछि सोही राति बझाङ गएका थिए ।

तेस्रो दिन बझाङबाट बाजुरा हुँदै अछाम–१ को साँफेबगर पुगेका शाह त्यसपछि डोटी पुगेका थिए । चौथो दिन भने उनले अछाम–२ का विभिन्न स्थानमा समय बिताए ।

अछाम–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनका स्वकीय सचिव भूपदेव शाहको निर्वाचन क्षेत्रमा पर्ने मंगलसेन, कमलबजार र विनायकमा शाहले पाँच–पाँच मिनेट मात्रै समय दिएका छन् ।

शाहले कुनै स्थानमा सार्वजनिक सम्बोधन नगरी पार्टी कार्यालयमा घण्टी बजाउने र गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गर्दै अर्को गन्तव्यतर्फ लाग्ने शैली अपनाएका छन् ।

भाषण नगर्ने, कसैसँग दोहोरो संवाद नगर्ने र प्रत्येक निर्वाचन क्षेत्रमा छोटो समय मात्रै बिताउने गरेका छन् । यसअघि पनि उनले एक निर्वाचन क्षेत्रमा औसतमा १० देखि १५ मिनेट मात्रै समय दिने गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार २०:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।