Logo

राजनीति

निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ ः प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा नेकपा पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देश निर्वाचनमय भइसकेको भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भयो भने नेकपा पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे ।

उनले भने,‘अहिले सिंगो देश निर्वाचनमय भइसकेको छ । प्रश्न उठाउनेहरु पनि प्रश्नसँगै निर्वाचनमा सहभागी भइरहेका छन् । विश्वास छ निर्वाचनले वैधानिकता पाउँछ ।

यदी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित र सुरक्षाकर्मी सबैले निष्पक्ष रुपमा भूमिका खेल्ने हो भने नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्छ । समानुपातिकमा त म भन्न सक्दिनँ, किनभने नयाँ भन्नेको हावा चलेकै छ । तर प्रत्यक्षमा अगाडि हुन्छौं ।

प्रत्यक्ष र समानुपातिक जोड्दा सबैले मेहेनत ग¥यौँ भने देशमा फेरी एक नम्बर पार्टी नेपाली कम्युनिष्ट पार्टी बन्ने सम्भावना छ ।’

उनले रुकुम पूर्वबाट उम्मेदवार बन्ने निर्णय लिनुको कारण केवल निर्वाचन जित्न मात्र नभई विकास, उत्पादन र रोजगारीको नयाँ ‘मोडेल’ खडा गरेर त्यसलाई समाजवादको रूपमा विकास गर्ने योजना रहेको सुनाए ।

उनले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको स्मरण गरे ।

अधुरा रहेका सुशासन र समृद्धिका अभियान पूरा गर्नका लागि जनताको र कार्यकर्ताको दृढता आवश्यक पर्ने भएकाले आफू पुनः जनताको बीचमा जान लागेको उनले धारणा राखे ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ०६:४७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।