Logo

गण्डकी प्रदेश

हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन



म्याग्दी । धौलागिरि गाउँपालिका–५ मल्कबाङका धनबहादुर तुलाचन हराएको ५५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको छ । २१ वर्षको उमेरमा लाहुरे हुने भन्दै घर छोडेर बेपत्ता भएका तुलाचन ७६ वर्षको उमेरमा परिवारको सम्पर्कमा आएका हुन् ।

भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैँचामा काम गर्ने तुलाचन एक साताअघि विभिन्न माध्यममार्फत परिवारको सम्पर्कमा आएको उनका साहिला दाइ कृष्णप्रसाद तुलाचनले बताए ।

‘हामी अहिले मङ्गला गाउँपालिका–५ पाखुमा बस्दै आएका छौँ, लाहुरे हुने भनेर गएको भाइ घर आउने आश नै मारेका थियौँ, बूढेसकालमा हामीलाई खोजी गर्दै विभिन्न माध्यमबाट घर खोज्दै आएपछि सपनाजस्तै लागेको छ,’ उनले भने ।

खोज्दा कतै नभेटिएपछि माया मारिसकेको मान्छे घर फर्किएपछि परिवारमा खुसियाली छाएको उनले बताए ।

धनबहादुरलाई दाइ कृष्णप्रसादले नागरिकता बनाउन आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी ल्याएका छन् ।

तत्कालीन समयमा मल्कबाङबाट ठाडाखानीसम्म पैदलै बेनीसम्म आएको र त्यसपछि सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाइ छ ।

भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार २०:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।