Logo

समाचार

‘सस्तोमा सुन दिन्छु’ भन्दै ६० लाख लुट्ने गिरोहका ४ जना पक्राउ



काठमाडाैँ । ‘सस्तो मूल्यमा बिलसहितको सुन दिन्छु’ भन्दै प्रलोभनमा पारेर ६० लाख रुपैयाँ लुटपाट गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।घटना गत माघ १४ गते दिउँसोको हो ।

लुटेरा समूहले पीडितलाई काठमाडौँ महानगरपालिका–१४ स्थित घ्याखेलमा बोलाएको थियो । सस्तोमा सुन पाउने लोभमा पीडित ६० लाख रुपैयाँ नगद बोकेर तोकिएको स्थानमा पुगे । तर, त्यहाँ सुन त थिएन, बरु ८–९ जनाको समूहले पीडितलाई घेराबन्दीमा पार्‍यो ।

उक्त समूहले पीडितलाई नियन्त्रणमा लिई कुटपिट गरेर उनीसँग भएको ६० लाख रुपैयाँ लुटेर फरार भएको थियो ।लुटपाटको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई भक्तपुर बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाको नौकुण्ड गाउँपालिका–३ घर भई काठमाडौंको तार्केश्वर बस्ने ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका–७ घर भई तार्केश्वर बस्ने २८ वर्षीय जीवन तामाङ रहेका छन् ।

उनीहरूलाई माघ १८ गते पक्राउ गरिएको हो ।त्यस्तै, नवलपरासीको कावासोती नगरपालिका–१३ घर भई काठमाडौंको एयरपोर्ट बस्ने ३८ वर्षीय कर्णबहादुर सुनारलाई माघ २० गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट लुटिएको रकममध्ये ९ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ । यसका साथै ५ थान मोबाइल, घटनामा प्रयोग भएका ३ थान मोटरसाइकल र विभिन्न कम्पनीका १३ थान सिमकार्ड पनि बरामद भएको छ ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।