काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आउने कार्यक्रम सार्वजनिक भएपछि राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको तयारी थालेका छन्। शुक्रबार दिउँसो १२ बजे विमानस्थलमा भेला भएर स्वागत गर्न आह्वान गरिएको छ।
राजावादीको उक्त तयारीलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सम्भावित सुरक्षा चुनौतीको मूल्याङ्कन र विश्लेषण सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्रको क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएको छ। उक्त निषेधाज्ञा फागुन १ गतेदेखि एक महिनासम्म लागू रहने बताइएको छ।
सुरक्षा अवस्थाको समीक्षा गर्न बिहीबार जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आयोजित बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारी सहभागी छन्।
जिल्ला सुरक्षा समितिबाट सुरक्षा रणनीतिबारे आवश्यक निर्णय लिइने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले विमानस्थलभित्रै स्वागत गर्न जाने आशयका सामग्री सामाजिक सञ्जालमा प्रकाशित भएको उल्लेख गर्दै त्यसलाई सुरक्षा चुनौतीका रूपमा लिइएको बताए।





















प्रतिक्रिया