काठमाडौं । नेपाली कांग्रेसले राष्ट्र निर्माणको अभियानलाई सशक्त बनाउन तथा लोकतान्त्रिक मूल्य र आदर्शलाई थप मजबुत बनाउन इच्छुक सबैलाई पार्टीमा औपचारिक रूपमा आबद्ध हुन आह्वान गरेको छ।
पार्टीका प्रवक्ता देवराज चालिसेले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमार्फत लोकतन्त्रप्रति आस्था राख्ने सम्पूर्ण महानुभावलाई पार्टीमा औपचारिक प्रवेश गरी राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा जुट्न अनुरोध गरेका हुन्।
विज्ञप्तिमा बदलिँदो समय, रूपान्तरित राजनीतिक चेतना र नयाँ नेतृत्वको स्पष्ट दृष्टिसहित कांग्रेस देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पका साथ अघि बढिरहेको उल्लेख गरिएको छ। साथै, पार्टीका सभापति गगन थापाको नेतृत्वमा संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको जनाइएको छ।
ऐतिहासिक संक्रमणको घडीमा वैकल्पिक शक्ति निर्माणमा विश्वास राख्ने तथा चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम र नागरिक समाजलगायत विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध भई समाज रूपान्तरणमा योगदान दिन कांग्रेसले हार्दिक आह्वान गरेको छ।
प्रवक्ता चालिसेले कांग्रेस सधैं विचार, विवेक र प्रतिबद्धताको संगम भएको लोकतान्त्रिक मञ्च रहेको उल्लेख गर्दै संस्थागत मूल्य, पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिइने बताएका छन्। देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य रहेको उनको भनाइ छ।





















प्रतिक्रिया