Logo

मनोरञ्जन

आँचलको फिल्म ‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने



काठमाडौँ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको फिल्म ‘एक मुठी बादल’ (माई सेयर अफ स्काई) नयाँ वर्षको जेठ १ गते (मे १५) देखि प्रदर्शनमा आउने भएको छ ।

निर्माण कम्पनी गौथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

निर्माण पक्षका अनुसार फिल्मका लगभग सम्पूर्ण मुख्य विधामा महिलाहरूको नेतृत्व रहेको छ । गौथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको संयुक्त ब्यानरमा निर्मित यस फिल्मलाई नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।

तीन पुस्ताको भावनात्मक उतारचढावलाई समेटेको यस चलचित्रले तीव्र गतिमा परिवर्तन भइरहेको नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यहरूबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकाङ्क्षालाई रोचक शैलीमा प्रस्तुत गर्ने बताइएको छ ।

प्रदर्शनअघि नै थुप्रै अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरिसकेको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला लगायतका कलाकारहरूको अभिनय छ ।

अभिमन्यु दीक्षितले निर्माण गरेको यस फिल्मको कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन् भने निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामिप्यराज तिमल्सेना र अनुप पौडेल आबद्ध छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आईतवार १७:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।