Logo

प्रमुख समाचार

पूर्वआईजीपी खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस



काठमाडौं । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी)चन्द्रकुबेर खापुङलाई फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। भदौ २३ र २४ गते भएको प्रदर्शन र सो क्रममा भएका उच्छृङ्खल गतिविधिबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रतिवेदन बुझाउँदै यस्तो राय दिएको हो।

काठमाडौँको नयाँ बानेश्वरमा प्रहरीले गोली चलाउँदा किशोरहरूको ज्यान गएको घटनामा खापुङको प्रत्यक्ष संलग्नता देखिएको आयोगको निष्कर्ष छ। लेथल हतियार प्रयोग गरी अधिक बल प्रयोग गर्ने आदेश तत्कालीन आईजीपी खापुङले नै दिएको फिल्डमा खटिएका अधिकृतहरूको बयानलाई प्रतिवेदनमा आधार बनाइएको छ। भदौ २३ गते दिउँसो करिब १ बजेतिर खापुङले प्रहरी सञ्चार सेट (वाकीटकी) बाटै “संसद् भवन घेरिसके, के हेरेको? गोली चलाऊ” भन्दै आदेश दिएको खुलेको छ।

आयोगले खापुङसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) छविलाल रिजाललाई पनि फौजदारी कानुन अनुसार मुद्दा चलाउन सिफारिस गरेको छ। गृह मन्त्रालयको तथ्याङ्क अनुसार सो प्रदर्शनका क्रममा देशभर ३९ जनाको गोली लागेर मृत्यु भएको थियो भने कुल ७६ जनाले ज्यान गुमाएका थिए ।

यस्तै, आयोगले जिल्ला सुरक्षा समिति काठमाडौँका तत्कालीन अध्यक्षलाई फौजदारी मुद्दा र अन्य पदाधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार १३:०४   :  बजे

420
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।