काठमाडौं। अन्तरराष्ट्रिय बजारमा देखिएको अभावलाई कारण बनाएर खाना पकाउने एलपी ग्यासमा कालोबजारी हुँदा उपभोक्ताले हैरानी बेहोर्नुपरेको छ।
सरकारी संयन्त्रले काम नगर्दा व्यापारी तथा व्यवसायीले ग्यासमा कालोबजारी गर्दै आएका हुन्।
ग्यासमा अवैध कारोबार भइरहेको कुनै सूचना वा खबर भए तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी दिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा आग्रह गरेको छ।
पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाइएको, बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि विभागले आमउपभोक्तालाई निःशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो।
नेपाल आयल निगमले आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने गरी आवश्यक व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम छ।
विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ।
पछिल्ला दिनमा विभागले देशभर स्थलगत अनुमगन तथा निरीक्षण गर्दै आएको छ।
अनुमगनका क्रममा कैफियत फेला पर्नेबित्तिकै उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको विभागले प्रष्ट पारेको छ।
ग्यासको माग उच्च रहेको विषम अवस्थामा आपूर्ति प्रणालीमा सहजता ल्याउन, कृत्रिम अभावलगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाइएको छ।
विभागले सबै ग्यास उत्पादक उद्योग र वितरक सबैमा कानुनअनुसार व्यापार व्यवसाय गर्न तथा कुनै पनि गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराएको छ।
सोमबार मात्रै विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख जरिवाना गरेको छ।
सो उद्योगको ललितपुर हरिसिद्धिमा रहेको गोदाममा लुकाएर राखेको १४ दशमलव दुई किलोग्राम तौलका ६ हजार ३७७ सिलिन्डर फेला परेको विभागले जनाएको छ।





















प्रतिक्रिया