Logo

खेलकुद

सन्दीप–ईशानसहित पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने



काठमाडौँ। एनपिएलको प्लेअफ खेल्नै लागेका पाँच खेलाडी बाहिरिने भएका छन्। सन्दीप जोरा, ईशान पाण्डेसहित पाँच खेलाडीले अब एनपिएलको प्लेअफ गुमाउनेछन्। आखिर किन? नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

कतारमा नोभेम्बर १९ देखि सुरु हुने प्रतियोगिताका लागि टोलीमा परेसँगै पाँच खेलाडीले नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ खेल गुमाउने भएका छन्। प्लेअफ गुमाउनेमा लुम्बिनी लायन्सका सन्दीप जोरा र अभिषेक गौतम, सुदूरपश्चिम रोयल्सका ईशान पाण्डे, काठमाडौं गोर्खाजका राशिद खान र चितवन राइनोजका देव खनाल रहेका छन्।

क्यानले घोषणा गरेको १५ सदस्यीय टोलीमा कप्तान सन्दीप लामिछानेसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल छन्।

एनपिएलको निर्णायक चरण नजिकिँदै गर्दा पाँच खेलाडीको अनुपस्थितिले सम्बन्धित टोलीको प्लेअफ तयारी र टिम संयोजनमा असर पार्न सक्ने देखिएको छ। एसिया कप राइजिङ स्टार्सका लागि कतार जानुपर्ने भएपछि यी पाँच खेलाडी प्लेअफमा उपलब्ध नहुने भएका हुन्।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार १३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।