काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित उच्च पदस्थ अधिकारीको हत्या गर्ने धम्की दिने गिरोहका नाइके प्रकाश पाठकसँग नागरिक उडयन प्राधिकरणकै कर्मचारी र एक विचौलियाको सम्बन्ध रहेको तथ्य खुलेको छ ।
फिलिपिन्सको अध्यागमन ब्युरो मार्फत पक्राउ परि नेपाल ल्याइएका उग्रवादी संगठन नेपाल (ईजिएन)का प्रमुख बताउने प्रकाश पाठकले दिएको बयानका आधारमा बिचौलियासहित नागरिक उडयन प्राधिकरणकै उच्च अधिकारी समेत छानबीनमा तानिएका हुन् ।
हाल काठमाडौं प्रहरीको हिरासतमा रहेका पाठकलाई उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारीको निर्देशनमा रकम जम्मा गरिदिएको भन्दै पोखरा विमानस्थलको तकालिन आयोजना प्रमुख समेत रहेकी चाँदमाला श्रेष्ठ अनुसन्धानमा तानिएकी छिन् ।
उनलाई प्रहरीले बयान लिने तयारी गरेको छ। त्यस्तै यस घटनामा प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूललाई पनि प्रहरीले सोधपुछ गरेको छ ।
सूचना अधिकारी भूलका अनुसार वेभसाइटमा उल्लेखित ईमेल मार्फत तत्कालिन महानिर्देशक प्रदिप अधिकारीलाई ईजिएनका संयोजक बताउने प्रकाश पाठकले धम्की दिएका थिए ।
सोही धम्कीको विषयमा सामान्य सोधपुछ गरिएको भूलले जानकारी दिए। ‘प्रदिप अधिकारीलाई पैसा माग्ने उद्देश्यले सूचना अधिकारीको ईमेलमा धम्कीपूर्ण सन्देश आएको थियो । अहिले पक्राउ परेको समूह नै हो भन्ने अहिले आएर थाहा भयो ।
त्यही विषयमा समान्य सोधपुछ मात्रै हो, भने,‘त्यो सामान्य विषय हो । धम्की आएको हो या होइन भनेर जानकारी लिन खोज्नु भएको रहेछ । मैले यथार्थ बताएर आएको छु ।’
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा १३ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नागरिक उडयन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदिप अधिकारी हाल कारागर छन् ।
उनी अख्तियारको हिरासत पर्नुअघि नै उग्रवादी संगठनको प्रमुख बताउने प्रकाश पाठकले अख्तियारका प्रमुख आयुक्त राईसहित १० व्यक्तिलाई हत्या गर्ने धम्की दिएको बिषय सार्वजनिक भएको थियो।
त्यसैगरी यस घटनामा तत्कालिन प्रधानमन्त्री केपी ओली निकट रहेका विचौलिया नविन बस्नेतलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ। महानिर्देशक अधिकारीले विचौलिया नविन बस्नेत मार्फत पाठकलाई प्रयोग गरेको स्रोत बताउँछ ।
बस्नेतलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भएता पनि तत्कालिन प्रधानमन्त्री ओली निकट भएकै कारण उनलाई बाहिरै राखेर अनुसन्धान गरिरहेको स्रोतको दावी छ ।
यो प्रकरणमा प्रहरीले बस्नेत सहित ८ जनामाथि अनुसन्धान गरिरहेको खुलेको छ । विचौलिया बस्नेत उनै पात्र हुन् जो २०७७ बैशाख १० मा भएको सांसद डा. सुरेन्द्रकुमार यादवको अपहरणमा संलग्न थिए ।
एमाले सांसद महेश बस्नेत, पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठ(किसान) सहित बस्नेतले डा. यादवको अपहरण गरेको बिषयमा तत्कालीन जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका थिए ।
तर, सत्ता र शक्तिको आडमा जोहरी नै दबाईएको थियो । अख्तियार प्रमुखको हत्याको धम्की दिने जस्तो गम्भिर अपराधिक मुद्दामा समेत बस्नेतलाई मुद्दा नचलाई सामान्य बयान लिएर मात्रै छाड्ने तयारीमा काठमाडौं प्रहरी रहेको बुझिएको छ ।




















प्रतिक्रिया