Logo

लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा



जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।
 
 यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो । 
 
 सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो । सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिनुभयो । लामाका अनुसार बालग्राम पठाइएकमा छ बालक र एक बालिका छन् ।
 
 पहिरोबाट विस्थापित भएर जुगल–१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयबाट आवश्यक काजगपत्र तयार गरी पिसीआर परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराईलगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।
 
 गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिनुभयो ।
 
 जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

प्रकाशित मिति : भाद्र २६, २०७७ शुक्रबार  ८ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।