गण्डकी । पोखरा–मुग्लिन सडक को पश्चिम खण्ड निर्माणले गति लिएको छ।
असारसम्म काम सक्ने लक्ष्यसहित अघि बढाइएको उक्त खण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ६२.२० प्रतिशत रहेको आयोजनाले जनाएको छ।
पोखराको सेती पुलदेखि तनहुँको जामुनेसम्म फैलिएको ३८.७१ किलोमिटर खण्डमा अधिकांश काम अन्तिम चरणमा पुगेको प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवर ले बताए।
उनका अनुसार ३७.२८ किलोमिटरमा दोस्रो तहको कालोपत्र सम्पन्न भइसकेको छ भने सर्भिस लेन निर्माण पनि तीव्र गतिमा भइरहेको छ।
यस खण्डमा १३ मध्ये १२ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती पुल निर्माणाधीन अवस्थामा छ। उक्त पुलको प्रगति करिब ५८ प्रतिशत पुगेको छ। ‘केबल–स्टेड’ प्रविधिमा निर्माण भइरहेको पुलको संरचनात्मक काम जारी रहेको छ।
सडक खण्डमा नाली, कल्भर्ट, ‘रोड सेफ्टी ब्यारीअर’ र ‘रोड मार्किङ’का कामहरू पनि धमाधम भइरहेका छन्।
चार लेन र छ लेन गरी मिश्रित संरचनामा निर्माण भइरहेको यस सडकले यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ।
एसियाली विकास बैंक को ऋण सहयोगमा निर्माण भइरहेको यो परियोजना अन्तर्गत पुल तथा सडक स्तरोन्नतिको काम भइरहेको हो।
निर्माणमा ढिलाइ भएपछि यसअघि पटक–पटक म्याद थप गरिएको थियो।





















प्रतिक्रिया