काठमाडौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा नयाँ पोस्ट गर्दै इजरायलको सार्वजनिक रूपमा प्रशंसा गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै इजरायल ‘अमेरिकाको एक महान सहयोगी साबित भएको’ र यो देश ‘साहसी, वफादार अनि स्मार्ट’ रहेको उल्लेख गरेका हुन्।
उनले भनेका छन्, ‘मानिसहरूलाई इजरायल मन परोस् या नपरोस्, तिनीहरू संयुक्त राज्य अमेरिकाको एक महान सहयोगी साबित भएका छन्।’
ट्रम्पले अगाडि लेखेका छन्, ‘तिनीहरू साहसी, बोल्ड, वफादार र चलाख छन् र, द्वन्द्व र तनावको क्षणमा आफ्नो वास्तविक रंग देखाउने अरूहरू भन्दा फरक। इजरायल कडा लड्छ, र कसरी जित्ने भनेर जान्दछ !’
उनको यो टिप्पणी इरानसँग इजरायल र अमेरिकाको जारी तनावका बिच आएको हो।
ट्रम्पले इरानसँगको युद्धमा सामेल हुन अस्वीकार गर्ने युरोपेली मुलुकहरू(नेटो) को आलोचना गर्दै इजरायल र अन्य अमेरिकी साझेदारहरू बिचको भिन्नता देखाउन खोजेको विश्लेषण भइरहेको छ।
यसैबिच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग बन्द गरेको जानकारी दिएको छ। आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आज (शनिबार) साँझदेखि यो नाकाबन्दी नहटेसम्म होर्मुजको जलमार्ग बन्द रहनेछ।’
उसले जहाजहरूलाई उक्त जलमार्ग नजिक नआउन चेतावनी दिँदै त्यसतर्फ सर्ने कुनै पनि जहाजलाई शत्रुको सहयोगी मानेर निशाना बनाइने बताएको छ। सोही अनुरुप शनिबार नै दुई भारतीय जहाजमाथि गोली चलेको थियो।
अर्कोतर्फ, हिज्बुल्लाहका प्रमुख नैम कासेम ले इजरायलसँगको १० दिने युद्धविराम कायम राख्न केही सर्तहरू अघि सारेका छन्। अल जजीरासँग कुरा गर्दै उनले लेबनान विरुद्धको हवाई, जमिन र समुद्री आक्रमण पूर्ण रूपमा रोक्न आह्वान गरेका छन्।
उनले इजरायली सेना फिर्ता, कैदीहरूको रिहाइ र विस्थापित बासिन्दाहरूको पुनरागमन आवश्यक भएको बताए।
ट्रम्पको पछिल्लो पोस्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई केही राहत दिएको अनुमान गरिएको छ।
यसअघि उनले इजरायललाई लेबनानमा बमबारी गर्न निषेध गरेको खबरले नेतान्याहू स्तब्ध भएको बताइएको थियो।
शुक्रबार ट्रम्पले लेखेका थिए, ‘इजरायलले अब लेबनानमा बमबारी गर्ने छैन। अमेरिकाले उनीहरूलाई त्यसो गर्न निषेध गरेको छ, अब पुग्यो !’
हाल लेबनानी लडाकू समूह हिज्बुल्लाह र इजरायलबिच १० दिने युद्धविराम जारी छ। तर एक अर्काले युद्धविराम तोडेको आरोप लगाएका छन्।
इजरायलले शुक्रबारको हमलामा एक सैनिक मारिएको बताएको छ। उक्त घटनामा तीन जना घाइते भएका छन्। अधिकारीहरूले यस युद्धविरामलाई इजरायल, अमेरिका र इरानबिचको विस्तृत शान्ति सम्झौताका रूपमा विस्तार गर्ने आशा राखेका छन्। एजेन्सी




















प्रतिक्रिया