Logo

समाचार

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुखबीच भेट, नेपालमा दूतावास स्थापना गर्न आग्रह



इस्तानबुल (टर्की) । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुससँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुई देशबिचको सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको थियो ।

द्विपक्षीय भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत दुई देश बिचको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउनु पर्ने उल्लेख गर्दै संसदीय अनुभव आदानप्रदान, भ्रमण र संसदीय मैत्री समूह गठनका लागि आफूहरू आतुर रहेको बताए ।

दुई देशबिचको कूटनीतिक सम्बन्ध ६ दशकदेखि नै सौहार्द र आपसी सम्मानमा आधारित रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे ।

अहिले टर्कीसँग जोडिएका सबै काम गर्न नेपालीहरू दिल्ली धाउनु पर्ने स्थिति रहेको भन्दै अध्यक्ष दाहालले नेपाल र टर्कीबिच श्रम सम्झौता गर्नुका साथै नेपालमै टर्किस दूतावास स्थापना भए दुई देशबिचको सहकार्यमा थप सहज हुने विश्वास व्यक्त गरे ।

आइपियूको महासभामा टर्की सरकार र संसदले गरेको स्वागत र हार्दिकताका लागि अध्यक्ष दाहालले धन्यवाद व्यक्त गरे सो क्रममा टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले राष्ट्रिय सभा अध्यक्षसहित नेपाली संसदीय प्रतिनिधि मण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।

टर्की र नेपालबिच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन आफूहरू सदैव तत्पर रहेको उल्लेख गर्दै सभामुख नुमानले नेपालमा टर्किस दूतावास खोल्न सकारात्मक रहेको बताए ।

टर्किस सरकारले नेपालका लागि सीमित कोटाको शैक्षिक छात्रवृत्तिको व्यवस्था गरेको उल्लेख गर्दै उनले छात्रवृत्तिको कोटा वृद्धि गर्ने र दुई देशबिचको व्यापार पनि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १२:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।