काठमाडौं । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री भाउ निर्धारण गरिँदै आएको जनाएको छ ।
क्रुड आयल (कच्चा तेल)को मूल्यका तुलनामा नेपालमा पेट्रोलियम पदार्थको भाउ बढी तोकिएको भनी आमउपभोक्तालाई भ्रममा पार्ने प्रयास भइरहेको जनाउँदै निगमले त्यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो । क्रुड आयलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक रहेको निगमले जनाएको छ ।
नेपालसँग आफ्नै ‘रिफाइनरी’ नहुँदा सोझै प्रशोधित पेट्रोल र डिजेल आयात गर्नुपर्ने बाध्यता छ । “क्रुड आयलभन्दा प्रशोधित इन्धनको मूल्य स्वाभाविक रूपमा बढी हुन्छ । त्यसैले मूल्य तुलना गर्दा क्रुड होइन, प्रशोधित पेट्रोलियम पदार्थकै अन्तर्राष्ट्रिय मूल्य हेर्नुपर्छ,” निगमका प्रवक्ता मनोज ठाकुरले भने ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ । आईओसीबाट प्राप्त प्रशोधित पेट्रोल र डिजेलको खरिद मूल्यका आधारमा नेपालमा प्रत्येक १५/१५ दिनमा भाउ समायोजन गरिँदै आएको छ ।
निगमले उपलब्ध गराएको तथ्यांकानुसार, सन् २०२६ अप्रिल १६ मा क्रुड आयलको मूल्य प्रतिब्यारेल ९९.६, पेट्रोल १३९.३ र डिजेल २२८.१ अमेरिकी डलर थियो । पछिल्लो समय सबैभन्दा उच्च मूल्य अप्रिल २ मा पुगेको थियो । त्यति बेला क्रुड आयल प्रतिब्यारेल ११८.३, पेट्रोल २६२.० र डिजेल ३३४.४ डलर पुगेको देखिन्छ ।
सामान्य अवस्थामा क्रुड आयल र पेट्रोलबीच करिब १० डलरको अन्तर हुन्छ । क्रुड आयल र डिजेलबीच करिब २० डलरको अन्तर रहने हुन्छ । तर, पछिल्लो अन्तर्राष्ट्रिय परिस्थितिमा यो अन्तर क्रमशः करिब १४४ र २१६ डलरसम्म पुगेको निगमले जनाएको छ । यसले प्रशोधित इन्धन आयात गर्ने मुलुकमा मूल्यवृद्धिको दबाब थप बढाएको छ ।
निगमका अनुसार, भन्सार, कर, ढुवानी, बिमा, भण्डारण, सेवा शुल्कजस्ता पक्षले पनि अन्तिम खुद्रा मूल्य निर्धारणमा प्रभाव पार्छ ।
निगमले यही वैशाख ३ गतेदेखि देशमा डिजेल/मट्टीतेलमा प्रतिलिटर ३० र हवाई इन्धनमा पाँच रुपैयाँले मूल्यवृद्धि गरेको थियो । मूल्यवृद्धिपश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा भइरहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा दैनिक बढोत्तरी आउँदा १५ दिनमा करिब पाँच अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रवक्ता ठाकुरले जानकारी दिए । रासस




















प्रतिक्रिया