Logo

अर्थ

करिब साढे १९ प्रतिशतले बढ्यो कामना सेवा विकास बैंकको नाफा, इपीएस कति ?



काठमाडौ ।कामना सेवा विकास बैंक लिमिटेडको नाफामा करिब साढे १९ प्रतिशतको वृद्धि देखिएको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १९.३७ प्रतिशतले नाफा बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.३७ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.६० प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.४४ प्रतिशत र सञ्चालन मुनाफा १८.३४ प्रतिशत बढेको छ । नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६.४६ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.२७ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसा बढेर २० रुपैयाँ ३२ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५६ पैसा घटेर १४ रुपैयाँ ४२ पैसामा झरेको छ।

चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.२ गुणा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ५७ पैसा रहेको छ ।

३५ करोड रुपैयाँको ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरसहित ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४५ करोड४९५ लाख रुपैयाँ सञ्चित छ ।

बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ६४ अर्ब ९५ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आईतवार १९:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।