काठमाडौ ।भारतको तमिलनाडु स्थित विरुधुनगर जिल्लामा आइतबार एक पटाका कारखानामा भएको विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु भएको छ। फायर एन्ड रेस्क्यू विभागका अनुसार दुर्घटनापछि अहिलेसम्म १६ वटा शव निकालिएको छ।
दुर्घटना भएको बेला कारखानामा करिब ३० जना मजदुर काम गरिरहेका जनाइएको छ। तीमध्ये ६ जना गम्भीर घाइते भएका कारण अस्पताल लगिएको छ भने अझै केही मानिसहरू भग्नावशेषमा पुरिएका हुनसक्ने आशंका गरिएको छ।
दमकल र प्रहरीसहितको उद्धार टोलीहरू घटनास्थलमा पुगेर भग्नावशेष हटाउने र फसेकाहरूलाई बाहिर निकाल्ने काममा जुटिरहेका छन्। हालसम्म विस्फोटको कारण स्पष्ट भएको छैन।
तमिलनाडुका मुख्यमन्त्री एम. के. स्टालिन ले सामाजिक सञ्जाल एक्समा लेख्दै यस घटनामा धेरैको ज्यान गएको खबर अत्यन्त दुःखद भएको बताएका छन्। उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले सम्बन्धित मन्त्रीहरूलाई तुरुन्त घटनास्थलमा पुग्न निर्देशन दिएका छन्। साथै, उनले जिल्ला कलेक्टरसँग कुरा गर्दै आवश्यक सबै सहयोगको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।
यसअघि, अप्रिल १३ मा विरुधुनगरकै सत्तूर नजिकैको सथिरापट्टी क्षेत्रमा अर्को पटाका कारखानामा विस्फोट हुँदा दुई जना मजदुरको मृत्यु भएको थियो।
त्यसमध्ये पाण्डी नामका मजदुरको घटनास्थलमै जलेर मृत्यु भएको थियो भने ३३ वर्षीय करुप्पासामी को उपचारका क्रममा अस्पतालमा निधन भएको थियो।




















प्रतिक्रिया