काठमाडौँ । ईन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत आइतबार भएको खेलमा कोलकाता नाइट राइडर्सले पहिलो जीत दर्ता गरेको छ ।
ईडेन गार्डन्समा सम्पन्न खेलमा केकेआरले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको खाता खोलेको हो ।
१५६ रनको लक्ष्य पछ्याएको केकेआरको सुरुआत अत्यन्त कमजोर रह्यो । मात्र ५ रन जोड्दा दुई विकेट गुमाएको टोली ८५ रनसम्म आइपुग्दा ६ विकेट गुमाएर दबाबमा परेको थियो । त्यसबेला केकेआरको जित्ने सम्भावना करिब १६ प्रतिशतमा झरेको थियो ।
तर त्यसपछि रिंकू सिंह र अनुकूल रोयले संयमित र जिम्मेवार साझेदारी गर्दै खेलको रूप नै फेरिदिए । दुवैले अविजित ७६ रनको साझेदारी गर्दै टोलीलाई अन्तिम ओभरमा रोमाञ्चक जित दिलाए ।
रिंकू सिंहले ३४ बलमा ५३ रनको निर्णायक पारी खेले भने अनुकूल रोय २९ रनमा अविजित रहे । रिंकूले आवश्यक समयमा आक्रामक प्रहार गर्दै टोलीलाई लक्ष्य नजिक पुर्याए भने अनुकूलले अर्को छेउ मजबुत बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा केकेआर दबाबमा परेको भए पनि अन्तिम दुई ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो ।
अन्तिम दुई ओभरमा केकेआरलाई २१ रन आवश्यक थियो । १९औँ ओभरमा अनुकूल रोयले इंग्लिस बलर जोफ्रा आर्चरविरुद्ध आकर्षक छक्का प्रहार गरेपछि खेल कोलकातातर्फ मोडियो ।
उक्त ओभरमा १२ रन आएपछि अन्तिम ओभरमा ९ रन आवश्यक रह्यो । तर राजस्थानका बलरले सो लक्ष्य जोगाउन सकेनन् र केकेआरले महत्वपूर्ण जित दर्ता गर्यो ।
यस हारसँगै राजस्थान रोयल्सले जित नजिक पुगेको खेल गुमाएको छ भने कोलकाताले सिजनको पहिलो जित निकाल्दै आत्मविश्वास बलियो बनाएको छ ।




















प्रतिक्रिया