Logo

विविध

तनहुँका सेवाग्राहीको घर दैलोमै राहदानी



तनहुँ। जिल्ला हुलाक कार्यालय तनहुँले सेवाग्राहीलाई लक्षित गर्दै घरमै राहदानी पुर्याउन सेवा विस्तार गरेको छ।

सरकारी सेवालाई सहज, पहुँच योग्य र छरितो बनाउने उद्देश्यले सुरु गरिएको यो सेवा पहिलो चरणमा राहदानी वितरणबाट लागू गरिएको हो भने आगामी दिनमा सवारी चालक अनुमति पत्रसमेत यही प्रणालीमार्फत घरमै पुर्याउने तयारी भइरहेको छ।

जिल्ला हुलाक कार्यालयका प्रमुख शिरिष उपाध्यायका अनुसार नेपाल सरकारको ‘एक सय शासकीय सुधार’ अन्तर्गत २७ नम्बर बुँदामा हुलाक सेवालाई सरकारी कुरियर सेवाका रुपमा विकास गर्ने नीति तय गरेसँगै उक्त कार्यक्रम जिल्लामा कार्यान्वयन गरिएको हो।

“सरकारको घोषणालाई व्यवहारमा उतार्दै हामीले राहदानी सेवाग्राहीकै घरमा पुर्याउने व्यवस्था सुरु गरेका छौँ,” उनले भने।

उनका अनुसार सेवा प्रभावकारी बनाउन जिल्लाभर हल्काराको कार्यक्षेत्र निर्धारण गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। परम्परागत रुपमा चिठीपत्र वितरण गर्दै आएका हल्काराहरूलाई तालिम तथा निर्देशन दिई सरकारी कागजपत्र सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्याउने व्यवस्था मिलाइएको छ।

राहदानी सेवाका लागि आवेदन दिने क्रममा नै सेवाग्राहीलाई थप विवरणसहितको अर्को फारम भर्नुपर्ने व्यवस्था गरिएको छ।

उक्त फारममा सेवाग्राहीको पूर्ण ठेगाना, घर पहिचानका आधार (जस्तै नजिकका चिनारी स्थल), सम्पर्क नम्बर तथा वैकल्पिक सम्पर्क विवरण संकलन गरिन्छ। यसले वितरणका क्रममा देखिने सम्भावित समस्या न्यूनीकरण गर्ने उपाध्यायले बताए।

कार्यालयका अनुसार घरमै सेवा पुर्याउँदा सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट घट्ने, लाइन बस्ने समस्या कम हुने र समय तथा खर्च दुवै बचत हुने अपेक्षा गरिएको छ। विशेष गरी दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकका लागि यो सेवा प्रभावकारी हुने बताइएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार २०:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।