Logo

अर्थ

वैदेशिक व्यापारमा घाटा झनै बढ्यो, ९ महिनामा १२ खर्बभन्दा बढी नोक्सानी



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालको व्यापार घाटा थप चुलिएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ घाटा थियो ।

घाटा बढ्दै जाँदा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ । समीक्षा अवधिमा आयात १३.८३ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा १३ खर्ब ९ अर्ब रुपैयाँको आयात भएको थियो ।

निर्यात भने तुलनात्मक रूपमा तीव्र गतिमा बढेको छ । १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको निर्यात गत वर्ष १ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित थियो ।

कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले विस्तार भएर १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार भएको थियो । तर व्यापार संरचना भने उस्तै असन्तुलित छ । कुल व्यापारमध्ये ८६.९९ प्रतिशत हिस्सा आयातको छ भने निर्यातको हिस्सा १३.०१ प्रतिशत मात्र छ ।

यस अवधिमा नेपालले १६७ देशसँग व्यापार गरेको छ । तीमध्ये ३५ देशसँग मात्र नाफा छ भने  १२२ देशसँग घाटा व्यहोर्नु परेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार ०८:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।