Logo

विविध

विराटनगरको होल्डिङ सेन्टर प्रयोगविहीन



मोरङ।   कोभिड महामारीपछि विराटनगरमा निर्माण गरिएको होल्डिङ सेन्टर उपयोगविहीन बनेको छ।

२०७४ सालपछि करिब २८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको होल्डिङ सेन्टरमा २२ जना बिरामी बस्ने सक्ने घर, २ जना चिकित्सक बस्न सक्ने कोठा, १ हजार शय्या, १५ वटा भान्सा कोठा, २२ वटा शौचालय तथा स्नान घर, २२ वटा आइसोलेसन लाइन निर्माण गरिएको छ।

तीन तहको सरकारको सहयोगमा निर्माण भएको सेन्टरलाई कसरी प्रयोगमा ल्याउने भन्ने विषयमा संघीय सरकारसमक्ष छलफल हुँदै आएको छ। सेन्टर प्रयोगमा आउन नसकेको बताउँदै कोशी प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रदेश सचिव डा. यदुचन्द्र घिमिरेले विराटनगरसँगै अन्य क्षेत्रमा समेत निर्माण गरिएका होल्डिङ सेन्टरलाई कसरी प्रयोगमा ल्याउन सकिन्छ भनेर संघीय सरकारमा कुरा भएको बताए।

उनका अनुसार निर्माण भएर रिक्त अवस्थामा रहेको सेन्टरलाई क्षेत्र, भूगोलअनुसार प्रयोगमा ल्याउन सकिनेतर्फ जोड रहेको छ। प्रदेश सचिव डा. घिमिरेले भने, ‘सेन्टरलाई प्रयोगमा ल्याउनका लागि क्षेत्रअनुसार स्थानीय तहले गाइड गर्ने, सुरक्षा निकायलाई राख्ने, कृषि हाट बजार राख्ने वा स्वास्थ्य क्षेत्र नै सञ्चालन गर्ने भन्ने विषय रहेको छ।

प्रदेश सरकारले संघीय सरकारलाई यस विषयमा जानकारी गराई छलफलसमेत गरेको छ। तर, अहिले यही नै बनाउने भन्ने विषय टुङ्गोमा पुगेको छैन।’

महानगरको वडा नम्बर १६ जुट मिलभित्रको क्षेत्रमा रहेको सेन्टरबारे वडाध्यक्ष उद्धव भुजेलले प्रयोगविहीन रहेको सेन्टरलाई उपयोगितामा ल्याउन पटकपटक प्रदेश सरकारलाई आग्रह गरेको बताए।

उनका अनुसार कोभिड महामारीपछि ०७८ सालमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा निर्माण भएको सेन्टरमा नेपाली सेनाको टोलीको सुरक्षाबाहेक केही छैन।

वडाध्यक्ष भुजेलले भने, ‘हामीले यसलाई प्रयोगमा ल्याउनका लागि धेरैपटक प्रदेश सरकारलाई घच्घच्यायौँ। तर कुनै सुनुवाइ भएन। हामीले अस्पतालको संरचना रहेको, आइसोलेसन रहेको हुँदा बर्थिङ सेन्टर, बाल अस्पताल, तथा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यालय बनाउनसमेत भन्यौँ। तर सरकारले केही सुनेको छैन।’

करिब ५ विगाह क्षेत्रफलमा फैलिएको सेन्टरबारे बताउँदै उनले निर्माण भएका भौतिक सरसमानको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको उल्लेख गरे।

अर्कोतर्फ, प्रयोगमै नआउँदा संरचनामा रहेका धेरै सरसमान भने मक्किँदै, जीर्ण हुँदै गएका छन्।सो क्षेत्रमा बाल अस्पताल वा वर्थिङ सेन्टर नै बनाउँदासमेत सीमानजिक भएको हुँदा नेपाली तथा भारतीय बिरामीको चाप बढ्ने सक्ने उनको भनाइ छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार २१:०६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।