Logo

विविध

झापामा ‘पेलेट ऊर्जा’ उत्पादन, विदेश निर्यातको लक्ष्य



झापा। खेर गइरहेको स्थानीय स्रोत–साधन सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ।

‘पेलेट ऊर्जा’लाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिँदै आएको हुँदा यसलाई पत्थर कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पका रूपमा मानिएको छ।

पराजुली बायोमास व्रिकेट उद्योगले ‘पेलेट ऊर्जा’को उत्पादन सुरुआत गरेको हो। उद्योगको १२ घन्टामा ७० हजार किलोग्रामसम्म ‘पेलेट ऊर्जा’ उत्पादन गर्ने क्षमता रहेको जनाउँदै उद्योगका सञ्चालक आदित्य पराजुलीले यहाँबाट उत्पादित पेलेटलाई झापामा मात्र नभएर नेपालका विभिन्न जिल्ला र छिमेकी भारतमा समेत निर्यात गरिने बताए।

चिया, सिमेन्ट, इँटा, फलामलगायतका उद्योगलाई सस्तो र वातावरणमैत्री इन्धनका रूपमा ‘पेलेट ऊर्जा’को प्रयोग बढिरहेको हुँदा उद्योगले खेर जाने कमल भेनियर सिट, उखुको खोस्टा, सुकेका पातपतिंगर, बाँसका चोइटा र काठका टुक्रालाई अत्याधुनिक प्रविधिबाट मेसिनमा प्रशोधन गरी दानेदार ऊर्जा तयार गरिने सञ्चालक पराजुलीले जानकारी दिए।

पेलेटले पत्थर कोइलाको आयातलाई प्रतिस्थापन गरेर मुलुकलाई इन्धनमा आत्मनिर्भर बन्न योगदान पुर्याउने भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल बताउँछन्।–रासस

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार ०७:१७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।