Logo

बैंकिङ

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै



काठमाडौं । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गर्दै देशका १६ ग्रामीण क्षेत्रमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ।

तालिमको सुरुआत कर्णाली प्रदेशअन्तर्गत जुम्लाको सिँजा गाउँपालिकाबाट वैशाख ९ गते बुधबारदेखि गरिएको बैंकले जनाएको छ। चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिने योजना रहेको छ।

बैंकका अनुसार कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहसँग सहकार्य गरी करिब पाँच सय कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका तथा गर्न इच्छुक व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा र लगानीका विकल्पसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए।

उनका अनुसार तालिमको उद्देश्य वित्तीय साक्षरता अभिवृद्धि गर्दै बेरोजगारी न्यूनीकरण, नयाँ व्यवसायमा प्रोत्साहन र उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्नु हो।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत ग्रामीण क्षेत्रका व्यक्तिलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। सहभागीहरूको रुचि र सम्भावनाअनुसार आवश्यक सीप र जानकारी प्रदान गरिने बैंकले जनाएको छ।

तालिममा बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती तथा तरकारी खेतीजस्ता कृषिमा आधारित व्यवसायका साथै बजार व्यवस्थापन र वित्तीय योजना सम्बन्धी ज्ञान प्रदान गरिनेछ।

बैंकले दिगो बैंकिङ अवधारणालाई अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकता दिएको पनि जनाएको छ।

नबिल बैंकले सामाजिक उद्यमशीलता, रोजगारी सृजना र दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १८:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।