Logo

समाचार

२४ घण्टाभित्रै अधिवेशन अन्त्यले प्रश्न उब्जायोः महामन्त्री पौडेल



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्नहरू उब्जाएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले आह्वान गरेकै भोलिपल्ट संसद अधिवेशन स्थगनले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नु पर्नेमा अध्यादेशको बाटो रोज्न खोजेको त होइन भन्ने आशंका उब्जाएको उल्लेख गरे ।

महामन्त्री पौडेलले प्रश्न गरेका छन्- सहज संसदीय अंकगणित र अनुकूल राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास किन यति कमजोर?

लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिइनुपर्ने उल्लेख गर्दै महामन्त्री पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन भनेका छन् । ‘जननिर्वाचित संस्थाको गरिमा उच्च राख्न र गरिमामय संसदलाई पूर्ण विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्न म सरकारसँग अनुरोध गर्दछु,’ महामन्त्री पौडेलले भनेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार ११:१६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।