Logo

शिक्षा

प्रवेशपत्र नआउँदा जाजरकोटका विद्यार्थी कक्षा १२ को परीक्षाबाट बन्चित



जाजरकोट । भोलिदेखि देशैभर सुरु हुन लागेको कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा जाजरकोटका केही विद्यार्थी प्रवेशपत्र नआएका कारण परीक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । आवश्यक सबै प्रक्रिया पूरा गर्दा पनि प्रवेशपत्र नपाएपछि विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।

कुशे गाउँपालिका–२, टालेगाउँस्थित श्री मान्ने ढुंगा माध्यमिक विद्यालयका अनुसार यसवर्ष कक्षा १२ को परीक्षामा सहभागी हुने तयारीमा रहेका केही विद्यार्थीको प्रवेशपत्र हालसम्म नआएको हो । विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सम्पर्क गर्न खोज्दा कुनै स्पष्ट जवाफ नआएको गुनासो गरेको छ ।

विद्यालयका प्रधानाध्यापक सुरेन्द्र सिंहले भने, ‘विद्यार्थीहरूले फाराम भर्ने, शुल्क बुझाउनेलगायत सबै प्रक्रिया समयमै पूरा गरेका छन् । तर प्रवेशपत्र नआएको कारणबारे बुझ्न राष्ट्रिय परीक्षा बोर्डमा सम्पर्क गर्दा पनि फोन उठेन ।’

प्रवेशपत्र नपाएका एक विद्यार्थीले आफूले सबै प्रक्रिया समयमै सम्पन्न गरेको दाबी गर्दै भने, ‘विद्यालय जाँदा प्रवेशपत्र आएको छैन भनियो । पछि किन नआएको भनेर सोध्दा कागजात केही छुटेको हुन सक्छ भन्ने अस्पष्ट जवाफ आयो । अब परीक्षा दिन नपाउने हो कि भन्ने डर लागेको छ ।’

यता शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले भने यस विषयमा आफूहरू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । ‘कक्षा १२ को परीक्षा व्यवस्थापनसम्बन्धी काम सम्बन्धित विद्यालय र परीक्षा बोर्डले हेर्ने हो,’ उनले भने ।

परीक्षा जस्तो संवेदनशील विषयमा सम्बन्धित निकायबीच समन्वयको अभाव देखिँदा निर्दोष विद्यार्थी मारमा परेका छन् । परीक्षा सुरु हुन एक दिन मात्र बाँकी रहँदा पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नदेखिँदा प्रभावित विद्यार्थी र अभिभावक चिन्तित बनेका छन् ।
उनीहरुले बिद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेहरुलाई छानबिन गरेर कारवाही गर्न माग गरेका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८३, आईतवार १८:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।