काठमाडौँ । संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसअनुसार नयाँ जीवन बीमा र पुराना कम्पनीहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफासँगै प्रतिशेयर आम्दानी (ईपीएस) लगायतका सूचकमा उत्कृष्ट प्रदर्शन गरेको छ।
समिक्षा अवधिमा रिलायबल लाइफले ४७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने ईपीएस १२.०७ रुपैयाँको उच्च विन्दुमा पुर्याएको छ, जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा करिब १ प्रतिशतले बढी हो ।
तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा भने झन्डै ५० प्रतिशतले घटेको छ। समिक्षा अवधिमा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४४.६६ प्रतिशतले घटेको हो । त्यस्तै, हिमालयन लाइफको प्रतिशेयर आम्दानी पनि ३.८१ रुपैयाँमा खुम्चिएको छ। यसले बिग मर्जरपछि खर्च व्यवस्थापन र व्यावसायिक विस्तारको सन्तुलन मिलाउन कम्पनीलाई कठिन भएको देखाउँछ।
त्यस्तै यस अवधिमा नेपाल लाइफको नाफामा पनि ३०.२५ प्रतिशतको गिरावट आएको छ । गत वर्ष ६५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको नेपाल लाइफ इन्स्योरेन्सले यस वर्ष जम्मा ४५ करोड ४८ लाखमा मात्र कमाएको छ। नेपाल लाइफको जगेडा र जीवन बीमा कोष भने २ खर्ब ६५ अर्ब रुपैयाँमाथि पुगेको छ।
वृद्धिदरका आधारमा भने लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपालको नाफा ३५.७८ प्रतिशतले बढेको छ। गत वर्ष २३ करोड ६० लाख नाफा कमाएको यस कम्पनीले यस वर्ष ३२ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै,समिक्षा अवधिमा सूर्यज्योति लाइफले ११.६९ प्रतिशतको वृद्धिसहित ३३ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।
तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार आईएमई लाइफ, नेशनल लाइफ र सिटीजन लाइफको नाफामा भने खासै फेरवदल भएको छैन। यसअवधिमा आईएमई लाइफको इपीएस ९.८१ रुपैयाँ र नेशनल लाइफको ९.७६ रुपैयाँ ईपीएस रहेको छ।
समग्रमा, बीमा शुल्क संकलन र कोषको आकार बढे पनि ठुला बीमा कम्पनीहरूलाई दाबी भुक्तानी र व्यवस्थापकीय खर्चका व्यवास्थापन गर्न चुनौती देखिएको छ। चैत मसान्तसम्मको प्रतिवेदन अनुसार रिलायबल नेपाल लाइफले आकर्षक प्रतिफल दिने क्षमता देखाएको छ भने नेपाल लाइफ र हिमालयन लाइफ जस्ता ‘ब्लुचिप’ कम्पनीहरूले लागत घटाउन थप मेहनत गर्नुपर्ने देखिएको छ ।
त्यस्तै, सानिमा रिलायन्स लाइफ, प्रभु महालक्ष्मी र सन नेपाल लाइफको ईपीएसमा आएको गिरावटले बोनस शेयरमार्फत बढेको चुक्ता पूँजी र व्यावसायिक मुनाफाको अनुपात नमिल्दा प्रतिशेयर आम्दानीमा चाप परेको देखिन्छ । यस उतारचढावका कारण आगामी दिनमा यी कम्पनीहरूले परम्परागत व्यवसायभन्दा पनि डिजिटल पहुँच र दक्ष लगानी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।
यस्तो छ वित्तीय विवरण:






















प्रतिक्रिया