Logo

प्रमुख समाचार

पोखराको फिर्केखोला मिचेर बनाइएका संरचना हटाउन जेठ ९ गतेसम्मको अल्टिमेटम



पोखरा । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा)भित्र बनेका सबै संरचना हटाउन जेठ ९ गतेसम्मको अल्टिमेटम दिएको छ ।  बुधबार थप सूचना जारी गर्दै यसअघिको ३५ दिने सूचनाको अवधिभित्रै फिर्केको खोलाघर खाली गर्न उर्दी जारी गरिएको हो ।

यसअघि महानगरपालिकाले २०८० कात्तिक १० गते ३५ दिने सूचना निकालेकोमा स्थानीयले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । तर, सम्मानित उच्च अदालतले महानगरको सूचनाउपर उत्प्रेषण र परमादेशको आदेश जारी गर्न नपर्ने (महानगरको कदमलाई सदर गर्ने) फैसला गरेपछि महानगरलाई अतिक्रमण हटाउने कानुनी बाटो खुलेको हो ।

अदालतको आदेश र महानगरले गत वैशाख ४ गते जारी गरेको सूचनालाई समेत आधार मान्दै यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको हो । खर्च सम्बन्धित व्यक्तिबाटै असुलिनेमहानगरले आगामी २०८३ जेठ ९ गतेभित्र व्यक्ति वा संस्थाहरूलाई आफ्ना संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन आग्रह गरेको छ।

‘उल्लेखित मितिभित्र संरचनाहरू नहटाएमा महानगरपालिका आफैँले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

फिर्के खोलाको वास्तविक अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षक वासुदेव पौडेलको संयोजकत्वमा प्राविधिक समिति गठन गरेको थियो । समितिले २०८० साउन ३ गतेदेखि भदौ २ गतेसम्म फिल्डमै खटिएर २०३२ सालको नापी नक्सालाई समेत आधार मानेर नापजाँच गरेको हो ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ अँधेरीकुनाबाट सुरु भई वडा नं. २, ४, ५, ७, ८, ६ हुँदै १७ नम्बर वडाको गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । नापजाँचका क्रममा फिर्के खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो र ४ मिटरदेखि ९ मिटरसम्म गहिरो रहेको रिपोर्ट निकालिएको छ ।

खोलाको वास्तविक सिमाङ्कन छुट्याउन प्राविधिक टोलीले खोलाको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी जम्मा ५८८ वटा सीमा स्तम्भ पनि गाडेको छ ।

खोलामाथि २५ वटा पुल तथा कल्भर्ट निर्माण भएका छन् । खोला बग्ने वास्तविक जग्गामै १६० वटा संरचना अवैध रूपमा निर्माण भएका छन् । कतिपय संरचना त पूर्ण रूपमा खोलाघरमै बनेका छन् भने कतिपयले पिलर नै खोलामा गाडेर उठाएका छन् ।

समितिको रिपोर्ट अनुसार, खोलाघरभित्र व्यक्तिगत अस्थायी संरचना ९७ वटा छ । बाँकी स्थायी संरचना छन् । त्यसमा व्यक्तिगत ३५ वटा, संस्थागत र सरकारी १८ वटा संरचना छन् । संस्थागत थप १० वटा अस्थायी संरचना पनि निर्माण भएको पाइएको छ । नियम पालना गराउने सरकारी निकाय र समाजका अगुवा संस्थाहरू नै अतिक्रमणमा अगाडि देखिएका छन् ।

प्रतिवेदनअनुसार वडा नम्बर १७ गाईघाटस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को तालिम केन्द्र भवन खोलाघरमै छ । यसैगरी, पोखरा इन्जिनियरिङ कलेजले झन्डै आधा संरचना खोला मिचेर बनाएको छ भने लिटल स्टेप बोर्डिङ स्कुलको भवन पनि खोलामै ठडिएका छन् ।

यसबाहेक कुँवर समाज घर, बराल समाज घर, सोंपाल तमु समाज घर, पुन मगर समाज, गिरी समाज घर, लायन्स क्लबको भवन, बगालेटोल र अर्चलबोटको किरियापुत्री भवन, फोटोग्राफर सङ्घको भवन, राधाकृष्ण मन्दिर लगायत दर्जनौँ संरचना खोलामै बनेका छन् ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०८३, बुधबार १२:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।