काठमाडाैं । विश्वकै प्रतिष्ठित होटल समूह म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष तथा म्यारियट साम्राज्यका उत्तराधिकारी डेभिड एस म्यारियट काठमाडौं आउँदैछन्।
सिजी हस्पिटालिटी र म्यारियट इन्टरनेशनलबीच हुन लागेको रणनीतिक साझेदारी सम्झौताका लागि उनको नेपाल भ्रमण तय भएको हो। म्यारियटको झण्डै सय वर्ष लामो इतिहासमा तेस्रो पुस्ताको नेतृत्व सम्हालिरहेका डेभिड म्यारियटको नेपाल आगमनलाई अन्तर्राष्ट्रिय आतिथ्य तथा पर्यटन क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ।
हाल म्यारियट इन्टरनेशनलका १४६ देश तथा क्षेत्रमा ९ हजार ९ सयभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन्। कम्पनीअन्तर्गत रिट्ज–कार्लटन, जेडब्लु म्यारियट, वेस्टिन, शेराटन र ले मेरिडियनजस्ता विश्वप्रसिद्ध ब्रान्ड रहेका छन्।
सिजी हस्पिटालिटीसँगको साझेदारीमार्फत नेपालमा वेस्टिन, द रिट्ज–कार्लटन र जेडब्लु म्यारियटजस्ता लक्जरी होटल परियोजना अगाडि बढ्ने अपेक्षा गरिएको छ। यदि यी परियोजना कार्यान्वयन भए नेपालले पहिलो पटक विश्वका चर्चित लक्जरी होटल ब्रान्डहरूलाई एकैसाथ स्वागत गर्ने अवसर पाउनेछ।
पर्यटन विज्ञहरूका अनुसार डेभिड म्यारियटको नेपाल भ्रमण केवल औपचारिक कार्यक्रम मात्र होइन, नेपालको पर्यटन बजार र लगानी वातावरणप्रति म्यारियट समूहको बढ्दो विश्वासको संकेत पनि हो। पछिल्ला वर्षहरूमा नेपालमा उच्चस्तरीय पर्यटन पूर्वाधार, सम्मेलन पर्यटन र लक्जरी आवास क्षेत्रमा बढिरहेको लगानीका बीच यो साझेदारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
नेपालमा हुन लागेको यो सम्झौताले केवल होटल व्यवसायलाई मात्र होइन, समग्र पर्यटन उद्योगलाई विश्वव्यापी लक्जरी होटल नेटवर्कसँग जोड्ने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया