Logo

अर्थ

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग



काठमाडाैं । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक कार्यालय सामग्री तथा सडक सुरक्षा उपकरण सहयोग गरेको छ ।

बैंकले समुदायको सुरक्षा, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी तथा व्यवस्थित बनाउने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ ।

यसअन्तर्गत बैंकले नेपाल प्रहरीअन्तर्गतका विभिन्न कार्यालयलाई कम्प्युटर, फर्निचर तथा कार्यालय सञ्चालनमा आवश्यक सामग्री हस्तान्तरण गरेको छ । सहयोग प्राप्त गर्ने कार्यालयहरूमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ, जिल्ला प्रहरी कार्यालय धादिङ, बाँकेको साईगाउँ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय काँकडभिट्टा झापा रहेका छन् ।

त्यसैगरी, ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक जिल्ला प्रहरी कार्यालय बर्दिया, गुलरियालाई रोड डिभाइडर तथा सचेतनामूलक बोर्डसमेत उपलब्ध गराइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त सहयोगले प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार सामाजिक विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार १६:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।