Logo

प्रमुख समाचार

डा.केसीसंग जितेर पनि हार्‍यो कम्युनिस्ट सरकार, रक्षा भयो जीवन



डा.गोविन्द केसीले २४औँ दिनमा एकतर्फी रुपमा आफ्नो अनशन तोडेका छन् ।नेपाली कांग्रेस, पूर्वराष्ट्रपति र नागरिक समाजका अगुवा नेताहरू आग्रहपछि डा.केसीले शुक्रबार साँझ सात बजे आफ्नो १६औँ अनशन तोडेका हुन् ।सरकारका आलोचकहरूले कम्युनिस्ट सरकारले डा.केसीमाथि विजयी हात पारेपनि पराजित भएको भनेर टिप्पणी गरेका छन् ।

डा.केसीको पक्षमा चिकित्सकहरूले आकस्मिक बाहेकका सेवाहरू बन्द गरेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण नागरिकलाई समस्या नहोस् भनेर डा.केसीले अनशन तोडेको दाबी गरेका छन् ।डा.केसीले अस्पतालमा कार्यरत सफाइ गर्ने मजदुर र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको हातबाट जुस पिएर अनशन तोडेका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.केसी अनशन बस्दै आएका थिए । उनको स्वास्थ्यमा खराबी आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र युवा नेता गगन थापाले बिहीबार डा.केसीसँग भेटेर अनशन तोड्न आग्रह गरेका थिए ।

कम्युनिस्ट सरकारले डा.केसीको मागको सुनुवाई नगरेपछि बाध्य भएर कांग्रेसले जीवनरक्षाका लागि अनशनत तोड्न आग्रह गरेको थियो ।मेडिकल माफियाहरूको पक्षमा कम्युनिस्ट सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराएको आरोप छ ।

चिकित्सा शिक्षा विधेयकको विरोधमा नेपाली कांग्रेस र उसका भातृ संगठनहरूले कम्युनिस्ट सरकारविरुद्ध दैनिक सरह सडक आन्दोलन गर्दै आएका छन् ।बिहीबार राष्ट्रिय सभाबाट समेत विधेयक पारित भएपछि आफ्ना शुभेच्छुकको आग्रहमा डा.केसी अनशन तोड्न तयार भएका हुन् ।

संसदबाट पारित भएको विधेयकमा केही व्यक्तिलाई फाइदा भएपनि राज्य र जनताको हित हुने विषय तोडमोड गरिएको विज्ञप्तिमा उल्लेख छ ।डा.केसीकै मागमा चिकित्सा क्षेत्र सुधारका लागि कार्यदल बनाउन सरकार तयार भएको थियो । पछि माथेमा प्रतिवेदन कार्यन्वयन गर्न भने सरकारले आनाकानी गर्‍यो ।

१५औं अनशन तोडाउने क्रममा प्रधानमन्त्री केपी ओलीले आफूसँग सम्झौता गरेपनि त्यसलाई इमान्दारीताका साथ कार्यान्वयन नगरेको भन्दै डा.केसीले असन्तुष्टि पोखेका छन् ।चिकित्सा शिक्षा क्षेत्रको नियामक निकाय नै राजनीतिक भर्ती केन्द्र बनाएकाले सुधारको आशा गर्ने ठाउँ नरहेको डा.केसीको विज्ञप्तिमा भनिएको छ ।

२४ दिन पहिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले संसदमा चिकित्सा शिक्षा विधेयक विधेयक पेश गरेपछि डा.केसीले अनशन सुरु गरेका थिए ।आफ्नो अनशनका क्रममा साथ दिने इलामका जनता र सुधारको अभियानमा साथ दिने तथा ऐक्यवद्धता जनाउने सबैलाई डा.केसीले धन्यवाद दिएका छन्।

प्रकाशित मिति : माघ १९, २०७५ शनिबार  ३ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।