सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुटन आग्रह गरेका छन् ।
वरिष्ठ नेता खनालले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफै कमजोर हुदै जाने चेतावनी पनि दिए ।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाण्डौमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले स्ववियू चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग गरे । उनले स्ववियू चुनाव पछि धकेल्ने प्रयास नगर्न पनि नेपाली कांग्रेसलाई सचेत गराए ।
आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू चुनाव फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले देशको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गरे । देशमा राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक उन्नतिको दिशामा केन्द्रित हुने बेला आएको वरिष्ठ नेता खनालको भनाई छ ।
प्रतिक्रिया