Logo

शिक्षा

सशस्त्रको विद्यालयमा ११ करोड अपचलन: इन्स्पेक्टरसहित २ जना पक्राउ



काठमाडौं । सशस्त्र प्रहरी बलले सञ्चालन गर्दै आएको कीर्तिपुरस्थित विद्यालयको करिब ११ करोड रूपैयाँ अपचलन भएको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कुलमै कार्यरत इन्स्पेक्टर तथा लेखा प्रमुख कल्पना गुरुङ र लिला लामा छन् ।

उनीहरुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

सशस्त्र प्रहरी हेडक्वाटरले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि परिसर काठमाडौंलाई पत्र लेखेको थियो । त्यसपछि परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनका अनुसार विद्यालयको रकम हिनामिनासम्बन्धी विषयमा विस्तृत अनुसन्धान भइरहेको छ । यस प्रकरणमा आपराधिक लाभसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान गर्ने तयारी प्रहरीले गरेको छ ।

यसको मुख्य योजनाकार नै लेखा प्रमुख गुरुङ रहेको बताइएको छ ।  मुख्य योजनाकार भनिएकी गुरुङ विगत ६ वर्षदेखि उक्त स्कुलमा लेखापालको रुपमा काम गरिरहेकी छिन् ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर गुरुङले गैरकानूनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेसँगै गुरुङ र लामालाई पक्राउ गर्ने बाटो खुलेको हो ।

समितिले सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अध्ययनपछि कानूनी कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो । छानबिनका क्रममा इन्स्पेक्टर गुरुङले विद्यालयको रकम आफ्ना निकटस्थ लीला लामाको खातामा पटक–पटक ट्रान्सफर गराएको तथ्य खुलेको छ ।

 

 

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १२:५४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।