Logo

राजनीति

सरकारको सय दिन उपलब्धिविहीन, संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहार भयो : सांसद राई



काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले १०० दिनमा ठूलो उपलब्धि हासिल गर्ने दाबी गरेपनि परिणाममुखी काम गर्न नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘सरकारको कर्तव्य र प्रतिपक्षको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको र प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको बताए ।

उनले भने, ‘सरकारले १०० दिनमा धेरै काम गर्छु भनेर ठूलो महत्वाकांक्षा देखाएको थियो। तर नागरिकले त्यसअनुसारको परिणाम अनुभूति गर्न सकेका छैनन्। सरकारले सुरुमै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको थियो। प्रतिपक्ष र सञ्चारकर्मीको दबाबपछि मात्रै त्यसमा केही सुधार आएको हो।’

आफू संविधान संशोधनसम्बन्धी छलफल टोलीको सदस्य रहेको उल्लेख गर्दै उनले भने, ‘संविधान संशोधन गर्नुअघि समुदाय, भूगोल र लैङ्गिक समावेशितालाई आधार बनाएर सुझाव संकलन गर्नुपर्छ ।

संविधान संशोधनका नाममा संघीयता तथा आदिवासी जनजाति, दलित, मधेसी, थारु, मुस्लिमलगायत समुदायका अधिकार कमजोर पार्ने प्रयास भइरहेको भन्दै उनले भने, ‘आफ्नो पार्टीले त्यसको निरन्तर विरोध गरिरहेको छ।सुशासनको नारा दिए पनि व्यवहारमा पारदर्शिता देखिएको छैन । अध्यादेशमार्फत राजनीतिक नियुक्ति हटाइए पनि त्यसपछि भएका नियुक्तिमा पारदर्शी प्रक्रिया अपनाइएको छैन ।’

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि सरकारले दमन गरेको उनले आरोप लगाए।

पर्याप्त अध्ययनबिना योजना समावेश गरिएकाले आगामी वर्ष ठूलो परिमाणमा बजेट फ्रिज हुने अवस्था आउने उनको भनाई छ ।

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘यसले नेपालको कूटनीतिक अडान कमजोर बनाएको छ ।’ यस्ता विषयमा प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार २०:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।