दार्चुला । कालापानी–लिपुलेक यात्रामा रहेको राष्ट्रिय जेन्जि नागरिक अभियानका अभियन्ताहरूले दार्चुला जिल्लाअन्तर्गत कालापानी–लिपुलेक क्षेत्रको काखैमा रहेको गुन्जी गाउँ परिसरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
राष्ट्रिय जेन्जि नागरिक अभियानका संयोजक सुनिल सिंह, सह–संयोजक अजय सोडारी तथा सचिव प्रकाश बमले नेपाली राष्ट्रिय झण्डा फहराउँदै उक्त क्षेत्र नेपालको अभिन्न भूभाग भएको दाबी गरेका छन् ।
सो अवसरमा अभियानका संयोजक सुनिल सिंहले प्रकृतिले निर्माण गरेको महाकाली नदीको वास्तविक मुहान लिम्पियाधुरा रहेको दाबी गर्दै भारतले दाबी गरेको काली नदीको मुहानलाई महाकालीको वास्तविक मुहानका रूपमा स्वीकार गर्न नसकिने बताए ।
उनले हराएका सीमा स्तम्भ खोजी गर्न र मिचिएका नेपाली भूमि फिर्ता गराउन नेपाली युवाहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
अभियानका सह–संयोजक अजय सोडारीले भारतले नेपालको भूमि हुँदै लिपुलेकबाट मानसरोवर जाने सडक निर्माण गर्नु गलत भएको बताए । यसमा नेपाल सरकार अहिले सम्म चुप बस्नु निकै राष्ट्रघात भएको बताउँदै उक्त क्षेत्र नेपालको भएको र ऐतिहासिक तथ्य तथा प्रमाणहरूले पनि यही पुष्टि गर्ने धारणा व्यक्त गरे ।
अभियानका सचिव प्रकाश बमले भारतले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको सम्मान गर्दै आफ्नो सेना तथा सीमा सुरक्षा बल उक्त क्षेत्रबाट फिर्ता लैजानुपर्ने बताए ।
साथै उनले नेपाल सरकारले भारतसँग प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याए । अभियन्ताहरूले नेपालको आधिकारिक नक्सामा समेटिएका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका क्षेत्र नेपालको भएको आफ्नो धारणा व्यक्त गर्दै सीमा सम्बन्धी विषय अन्तर्राष्ट्रिय कानुन, द्विपक्षीय वार्ता तथा ऐतिहासिक दस्तावेजका आधारमा समाधान हुनुपर्ने बताएका छन् ।
अभियानका अनुसार, “देशभन्दा माथि केही हुँदैन । छिमेकी देशको हस्तक्षेप स्वीकार्य छैन । हामी नवयुवाहरू राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षाका लागि दृढतापूर्वक उभिन्छौँ ।” भन्ने सन्देशका साथ कालापानी , लिपुलेक यात्रा सञ्चालन गरिएको हो ।
अभियानले नेपालको भूमि, राष्ट्रियता र सीमाको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यात्रा निरन्तर जारी रहेको जनाएको छ ।





















प्रतिक्रिया