काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले तीन दशकभन्दा बढी समय शासन सञ्चालन गरेका राजनीतिक दलहरूले १०० दिनको सरकारसँग परिणामको हिसाब माग्नु राजनीतिक संस्कारसँग जोडिएको विषय भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद पराजुलीले १०० दिनको कार्यकाललाई आधार बनाएर सरकारको आलोचना गर्नेहरू पहिले विगत तीन दशकको शासनको जिम्मेवारी लिन तयार हुनुपर्ने बताएका छन्।
उनले राज्यका संरचनालाई दलीय प्रभावमा राख्ने, नियुक्ति र अवसरलाई भागबण्डाको माध्यम बनाउने, भ्रष्टाचारका प्रकरण दबाउने तथा जनविश्वास कमजोर बनाउने अभ्यास विगतका शासक दलहरूले संस्थागत गरेको आरोप लगाए।
पराजुलीले अहिले कानुनको दायरा प्रभावशाली व्यक्तिसम्म पुग्न थालेको, अनुसन्धानले राजनीतिक पहुँचको घेरा तोड्न थालेको तथा सुशासनलाई व्यवहारमा उतार्ने प्रयास भइरहेको दाबी गरे। यही कारण विगतका राजनीतिक शक्ति सबैभन्दा बढी अधैर्य बनेको उनको भनाइ छ।
उनले १०० दिनमै दशकौँदेखि थुप्रिएका सबै समस्या समाधान हुन नसक्ने स्वीकार गर्दै सरकारले सुधारको आधार तयार गरेको, कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देश दिएको तथा भ्रष्टाचारलाई संरक्षण गर्नुको सट्टा अनुसन्धानको दायरामा ल्याउने राजनीतिक इच्छाशक्ति देखाएको उल्लेख गरेका छन्।
सांसद पराजुलीले सरकारमाथि खबरदारी र परिणामको माग आवश्यक भए पनि त्यसका लागि विगत तीन दशकको राजनीतिक जिम्मेवारीको पनि समीक्षा हुनुपर्ने बताएका छन्।
तीन दशकको असफलताको जिम्मेवारीबाट पन्छिएर १०० दिनलाई मात्र राजनीतिक हतियार बनाउने प्रयासले इतिहास परिवर्तन गर्न नसक्ने र त्यसले परिवर्तनप्रति कसलाई असहजता छ भन्ने कुरा अझ स्पष्ट बनाउने उनको टिप्पणी छ।





















प्रतिक्रिया