काठमाडौं । ‘सुरक्षा हाम्रो जिम्मेवारी, सेवा हाम्रो पहिचान’भन्ने नारासहित स्वतन्त्र चालक फाउण्डेशन नेपालले राइडरहरूलाई लक्षित गर्दै ट्राफिक सचेतना अभियानलाई निरन्तरता दिएको छ ।
उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सञ्चालन भइरहेको अभियानअन्तर्गत मंगलबार काठमाडौंको बालाजु बसपार्क क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा ट्राफिक नियमको पालना, हेल्मेटको अनिवार्य प्रयोग, अफलाइन राइड सेयर नगर्न, राइडरको पहिचान खुल्ने पोसाकको प्रयोग तथा जिम्मेवार चालकको व्यवहार विकास गर्न राइडरहरुलाई विशेष जोड दिइएको थियो।
ट्राफिक प्रहरीसँगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा उल्लेख्यरुपमा राइडरहरूको सहभागिता रहेको थियो ।
स्वतन्त्र चालक फाउण्डेशन नेपालकी अध्यक्ष रेश्मा बिसुन्केले संस्था ०८१ सालमा स्थापना भएको र यसको मुख्य उद्देश्य देशभर रहेका राइडरहरूको हकहितका लागि आवाज उठाउने रहेको बताइन् ।
बिसुन्केले राइडरहरूले ट्राफिक प्रहरीमाथि मात्र दोष लगाउने प्रवृत्ति अन्त्य हुनुपर्ने बताइन् । राइडर आफैंले पनि ट्राफिक नियम उल्लंघन गर्ने गरेको स्वीकार गर्दै आफ्ना कमजोरी सुधार्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले भनिन्, ‘हामी सधैं ट्राफिकले दुःख दियो, चिट काट्यो भनेर ट्राफिकलाई मात्रै दोष दिन्छौं। तर हाम्रो पनि कमजोरी हुन्छ, किन नसुध्रिने ? हकमजोरी पनि हामी आफैंले सच्याउनुपर्छ। त्यसैले राइडरहरूलाई ट्राफिक नियम पालना गर्न, सुरक्षित रूपमा सवारी चलाउन र जिम्मेवार बन्न आग्रह गर्न यो कार्यक्रम गरेका हौं।’
बिसुन्केले पछिल्लो समय अफलाइन राइडको प्रवृत्ति बढ्दै गएको भन्दै यसले राइडर र यात्रु दुवैको सुरक्षामा जोखिम बढाउने बताइन्। अफलाइन सेवा दिँदा दुर्घटना भए बीमा दाबी गर्न समेत समस्या हुने भएकाले यस्तो अभ्यास अन्त्य गर्न उनले आग्रह गरिन्।
राइडरका लागि छुट्टै पहिचान खुल्ने पोसाक आवश्यक रहेको भन्दै उक्त विषय सरकारसमक्ष समेत उठाइसकेको उनले जानकारी दिइन्। यसले राइडरको पहिचान स्पष्ट हुने र सेवा थप व्यवस्थित बन्ने उनको विश्वास छ ।
‘राइडर भएपछि छुट्टै पहिचान खुल्ने ड्रेस हुनुपर्छ भन्ने माग हामीले सरकारसमक्ष पनि राखिसकेका छौं। राइडरले पनि यस्तो पोसाक लगाउनुपर्छ। यसले सरकारलाई नियमन गर्न सजिलो हुन्छ भने राइडरको पहिचान पनि स्पष्ट हुन्छ,’ उनले भनिन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राइडरहरूको आर्थिक अवस्था अझै पनि दयनीय रहेको बताउँदै प्रतिकिलोमिटर नौं रुपैयाँमा काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिन् । धेरै राइडर विद्यार्थी तथा दैनिक आम्दानीमा निर्भर भएकाले कम पारिश्रमिकमा पनि काम गर्न विवश रहेको उनको भनाइ थियो।
उनले भनिन्, ‘राइडरको अवस्था सुध्रेको छैन। प्रति किलोमिटर ९–१० रुपैयाँमा काम गर्नुपर्ने बाध्यता छ । बिहान काम गरेर बेलुका गुजारा गर्ने धेरै राइडर छन् । धेरै विद्यार्थी पनि पार्टटाइमका रूपमा यो पेशामा छन् । बाध्यताका कारण कम पारिश्रमिकमै काम गर्नुपरेको छ । सरकारसँग पटक–पटक छलफल गरेका छौं, तर अपेक्षाअनुसार परिणाम आएको छैन।’
बिसुन्केले नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीहरूले राइडरको श्रमको उचित मूल्य नदिएको आरोप लगाइन् । उनले पठाओ, याङ्गो र इनड्राइभजस्ता कम्पनीले राइडरको परिश्रमबाट नाफा कमाइरहे पनि उचित पारिश्रमिक दिन नसकेको बताइन् ।
सरकारले समेत राइड सेयरिङ क्षेत्रको स्पष्ट नीति–नियम बनाउन ढिलाइ गरेको भन्दै उनले अहिले पनि राइडर श्रमिक हुन् वा स्वरोजगार भन्ने विषय स्पष्ट नभएको बताइन् ।
उनका अनुसार दुर्घटनापछि बीमा दाबी प्रक्रिया झन्झटिलो छ । दुर्घटनापछि उपचारका लागि तत्काल रकम जुटाउन राइडरहरू एकअर्कासँग सहयोग संकलन गर्न बाध्य हुने अवस्था रहेको उनको भनाइ थियो ।
बिसुन्केले राइडरहरूबीच एकता कायम गरी आफ्नो हकहितका लागि संगठित हुनुपर्ने, कम्पनीहरूले राइडरको श्रमको सम्मान गर्दै उचित पारिश्रमिक र सुविधा दिनुपर्ने तथा सरकारले शीघ्र राइड सेयरिङसम्बन्धी स्पष्ट कानुन ल्याउनुपर्नेमा जोड दिइन् ।
उनका अनुसार राइडरको सुरक्षा, सामाजिक सुरक्षा, उचित पारिश्रमिक र सम्मान सुनिश्चित भए मात्र यो पेशा सुरक्षित र मर्यादित बन्न सक्छ।




















प्रतिक्रिया