Logo

कर्णाली प्रदेश

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका ५ सांसद पनि सहभागी



​सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। बिहीबार प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ११ जना सांसद र सत्तारुढ नेपाली कांग्रेसका ५ जना सांसद गरी कुल १६ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

​नेपालको संविधानको धारा १८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्री कँडेलले प्रदेशसभाको विश्वास गुमाएको दाबी गर्दै यो प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

​कर्णाली प्रदेश सरकारमा बुधबार मात्रै नेपाली कांग्रेसका तर्फबाट सहभागी ४ जना मन्त्रीहरूले राजीनामा दिएका थिए। मन्त्रीहरूले राजीनामा दिए पनि कांग्रेसले सरकारलाई दिएको समर्थन भने औपचारिक रूपमा फिर्ता लिइसकेको थिएन। तर, बिहीबार नाटकीय रूपमा कांग्रेसका ५ जना सांसदहरू प्रतिपक्षी दलहरूसँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पुगेका हुन्।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरूमा निवर्तमान मुख्यमन्त्री राजकुमार शर्मा र कांग्रेसका ५ जना सांसदहरू समेत रहेका छन्। विपक्षी दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका हुन्।

​४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ। मुख्यमन्त्री कँडेलको दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर बनेको सरकार संकटमा परेसँगै कर्णालीको राजनीतिले नयाँ मोड लिएको छ। अविश्वासको प्रस्ताव दर्ता भएसँगै अब नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया र प्रदेशसभाको अङ्कगणित मिलाउन दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १७:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।