काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य विद्वान गुरुङले अविरल वर्षाका कारण सिर्जित विषम परिस्थितिमा नागरिकको सुरक्षा र राहतका लागि सरकारलाई थप गम्भीर बन्न ध्यानाकर्षण गराएका छन् ।
देशभर बाढी, पहिरो र सडक अवरुद्धका खबरहरू सार्वजनिक भइरहँदा समेत प्राकृतिक विपद्को पूर्वतयारी र व्यवस्थापनमा सरकारी कार्यशैली फितलो देखिएको भन्दै उनले कडा असन्तुष्टि व्यक्त गरेका हुन् ।
महासमिति सदस्य गुरुङले नागरिकको जीवन रक्षा राज्यको प्राथमिक दायित्व भएको बताउँदै भने, ‘अविरल वर्षाले निम्त्याउन सक्ने जोखिम न्यूनीकरण र उद्धारका लागि सरकारी संयन्त्रहरू अझै चुस्त र प्रभावकारी हुनुपर्छ। विपद् व्यवस्थापनमा सरकारको फितलो कार्यशैलीले नागरिकको सुरक्षामा चुनौती थपिएको छ, तसर्थ तत्काल तयारीलाई तीव्रता दिन म सरकारको जोडदार ध्यानाकर्षण गराउँछु।’
सरकारी निकायको ध्यानाकर्षण गराउने क्रममा उनले आम नागरिकलाई पनि उत्तिकै सतर्क रहन अपिल गरेका छन् । नदी तथा खोलाहरूमा बहाव बढेको र राजमार्गका विभिन्न खण्डहरू अवरुद्ध भएकाले यस्तो समयमा यात्रा गर्दा निकै सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।
’यात्रामा निस्कनुअघि सम्बन्धित सडक खण्डको पछिल्लो अवस्था र मौसमबारे पूर्ण जानकारी लिएर मात्र निस्कन म सबैमा हार्दिक अपिल गर्दछु,’ गुरुङले भने ।
विपद्को यस कठिन घडीमा सुरक्षित रहन र उच्च सतर्कता अपनाउन उनले सबैमा अनुरोध गरेका छन् ।




















प्रतिक्रिया