Logo

बैंकिङ

गरिमा विकास बैंकले एकैसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक



काठमाडौं। नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसर पारेर गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको छ।

बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पीओएस टर्मिनल र गरिमा इन्टरबैंक क्यूआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको जनाएको छ। यी सेवामार्फत बैंकले आफ्नो डिजिटल बैंकिङ इकोसिस्टमलाई थप विस्तार गरेको हो।

गरिमा प्रिपेड डलर कार्डमार्फत नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र रही अन्तर्राष्ट्रिय वेबसाइट, मोबाइल एप तथा विभिन्न ई–कमर्स प्लेटफर्ममा अमेरिकी डलरमा सुरक्षित अनलाइन भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

यस्तै, गरिमा पीओएस टर्मिनल सेवाले व्यवसायी तथा व्यापारीलाई डेबिट, क्रेडिट र प्रिपेड कार्डमार्फत छिटो, सुरक्षित र भरपर्दो डिजिटल भुक्तानी स्वीकार गर्ने सुविधा प्रदान गर्नेछ।

बैंकका अनुसार यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै व्यापारिक कारोबारलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

त्यसैगरी, गरिमा इन्टरबैंक क्यूआर टेलर सेवामार्फत फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपबाट गरिमा क्यूआर स्क्यान गरी गरिमा विकास बैंकको कुनै पनि शाखाबाट सहज रूपमा नगद प्राप्त गर्न सक्नेछन्।

बैंकले डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि प्रविधिमैत्री, सुरक्षित, सरल र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १९:२१   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।