काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षाको सम्भावना देखिएपछि बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको जनाएको छ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव बढेर बाढीको जोखिमपूर्ण अवस्था सिर्जना भएमा आज कोशी ब्यारेजका ढोका आवश्यकता अनुसार क्रमशः खोलिनेछ।
जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले देशभरका नदीहरूको जलप्रवाहको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै हाल २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बताए।
प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरेर उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ।
साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन, नदी किनार र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन निर्देशन दिइएको छ।
प्राधिकरणले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा आवागमनबाट जोगिन तथा मौसम र बाढीसम्बन्धी आधिकारिक सूचनालाई निरन्तर पछ्याउन पनि आग्रह गरेको छ।




















प्रतिक्रिया