Logo

Technology

हाइड्रोजन सवारी सञ्चालनका लागि नीति बनाउन सुझाव माग



काठमाडौं — सरकारले नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत तथा कानुनी तयारी सुरु गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाइड्रोजन प्रविधिसम्बन्धी नीति, कानुनी र प्राविधिक आधार तयार गर्न विज्ञ, विशेषज्ञ तथा सरोकारवालासँग लिखित सुझाव मागेको हो।

मन्त्रालयका अनुसार हाइड्रोजन सवारी सञ्चालनका लागि अन्तर्राष्ट्रिय अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड, प्राविधिक निर्देशिका तथा आवश्यक जनशक्ति विकाससम्बन्धी सुझाव संकलन गरिनेछ।

यसका लागि विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थालाई सहभागिताका लागि आह्वान गरिएको छ।

मन्त्रालयले विशेषगरी हाइड्रोजन सवारीसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, नीतिगत व्यवस्था, हाइड्रोजन उत्पादनदेखि इन्धन भर्ने पूर्वाधारसम्मका सुरक्षा मापदण्ड तथा विद्यमान आन्तरिक दहन (आईसीई) इन्जिनयुक्त सवारीलाई हाइड्रोजन प्रविधिमा रूपान्तरण गर्ने सम्भावना, लागत र प्राविधिक पक्षबारे सुझाव मागेको जनाएको छ।

इच्छुक व्यक्ति वा संस्थाले साउन २० गतेभित्र मन्त्रालयको आधिकारिक इमेलमार्फत सुझाव पेस गर्न सक्नेछन्। सुझावसँगै सम्बन्धित संस्था वा निकायको संक्षिप्त परिचय, कार्यक्षेत्र र अनुभवसमेत उल्लेख गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार प्राप्त सुझावको अध्ययन र विश्लेषणपछि नेपालमा हाइड्रोजनमा आधारित सवारी सञ्चालनसम्बन्धी नीति, कानुनी व्यवस्था र कार्यविधि तयार गरिनेछ। सरकारले यस पहलले देशको यातायात क्षेत्रलाई थप वातावरणमैत्री र आधुनिक प्रविधिमा आधारित बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार ११:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।