Logo

Technology

तेस्रो टेलिकम अपरेटरको आवश्यकता फेरि बहसमा, प्राधिकरणले अघि बढायाे गृहकार्य



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन तेस्रो सेवा प्रदायक (थर्ड प्लेयर) को आवश्यकता र औचित्यबारे अध्ययन अघि बढाएको जनाएको छ।

हाल बजारमा नेपाल टेलिकम र एनसेल मात्र सक्रिय रूपमा सञ्चालनमा रहेकाले उपभोक्ताको रोजाइ र प्रतिस्पर्धात्मक वातावरण सीमित भएको भन्दै प्राधिकरणले यस विषयमा गृहकार्य थालेको हो।

काठमाडौँमा आयोजित एक कार्यक्रममा प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले तेस्रो अपरेटरको आवश्यकता, बजारको अवस्था र प्रतिस्पर्धात्मक वातावरणबारे अध्ययन भइरहेको जानकारी दिए।

उनका अनुसार नयाँ अपरेटर प्रवेश गर्दा बजारमा प्रतिस्पर्धा बढ्ने र उपभोक्ताले थप विकल्प पाउने सम्भावनाबारे मूल्यांकन गरिनेछ।

प्राधिकरणको नेतृत्व रिक्त रहेकाले नयाँ नेतृत्व नियुक्त भएपछि सरकारसँग आवश्यक समन्वय र छलफल गरी विषयलाई अगाडि बढाइने उनले बताए।

दूरसञ्चार विज्ञ तथा प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्द खनालले भने दूरसञ्चार क्षेत्रको दीर्घकालीन दिगोपनप्रति चिन्ता व्यक्त गरेका छन्। मुलुकको जनसंख्या र बजारको आकारका आधारमा तीनदेखि चार अपरेटरसम्म सञ्चालन हुन सक्ने भए पनि त्यसका लागि स्पेक्ट्रम नीलामी र नवीकरण शुल्कलाई व्यावहारिक बनाउनुपर्ने उनको भनाइ छ।

सरकार र नियामक निकायको हालको नीतिगत अभ्यास कायम रहे आगामी वर्षहरूमा हाल सञ्चालनमा रहेका नेपाल टेलिकम र एनसेलसमेत दबाबमा पर्न सक्ने खनालले बताए। उनका अनुसार प्रतिस्पर्धी व्यावसायिक वातावरणको अभावले निजी तथा सरकारी दुवै सेवा प्रदायक प्रभावित भइरहेका छन्।

नेपाल टेलिकमको वित्तीय अवस्था र सेवा विस्तार रणनीतिबारे प्रश्न उठाउँदै उनले पछिल्ला वर्षहरूमा सेवा बिक्रीबाट हुने आम्दानी र सञ्चालन खर्चबीच सन्तुलन कायम हुन नसकेको दाबी गरे। बैंक निक्षेपको ब्याजबाट नाफा देखिए पनि दूरसञ्चार सेवाको वास्तविक प्रतिफल अपेक्षाअनुसार नरहेको उनको भनाइ थियो।

तेस्रो अपरेटरको विषय यसअघि पनि पटक–पटक उठ्दै आएको छ। पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले समेत प्रतिस्पर्धा प्रवर्द्धनका लागि तेस्रो मोबाइल अपरेटरको सम्भावनाबारे अध्ययन भइरहेको बताएका थिए।

सरकारले फोरजी सेवालाई व्यवस्थित गर्दै फाइभजी सेवा विस्तारको तयारी गरिरहेको पनि उनले बताएका थिए।

यसबीच, दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानीमा आएको गिरावटप्रति प्राधिकरणले चासो देखाएको छ। सेवा प्रदायकहरूको आय सुनिश्चितता परीक्षण (रेभेन्यू एस्योरेन्स अडिट) का लागि तेस्रो पक्षमार्फत विस्तृत अध्ययन गर्ने तयारी पनि प्राधिकरणले गरेको छ।

प्राधिकरणका तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा दूरसञ्चार सेवा प्रदायकहरूको कुल आम्दानी ८१ अर्ब २० करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा घटेर ६८ अर्ब ११ करोड रुपैयाँमा झरेको छ। पाँच वर्षको अवधिमा क्षेत्रको आम्दानी १६ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ।

दूरसञ्चार क्षेत्रमा तेस्रो अपरेटर भित्र्याउने बहस सरकारी तहमा निरन्तर चलिरहे पनि निर्णय भने अझै अध्ययन र नीतिगत छलफलकै चरणमा रहेको छ। यसबीच क्षेत्रको आम्दानी घट्दै जानु र बजारको दिगोपनमाथि प्रश्न उठ्नु दूरसञ्चार क्षेत्रका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार १९:२०   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।