Logo

कर्पोरेट फोकस

दुर्गा प्रसाईको कार्यक्रममा कुमारी बैंकले लुट्यो भन्दै रुने महिला ‘डिफल्टर ऋणी’ भएको खुलासा



काठमाडौ । दुर्गा प्रसाईंको कार्यक्रममा एक महिला “कुमारी बैंकले मलाई लुट्यो, मेरो श्रीमानको अनुमति बिना खाता पैसा निकाल्यो” भन्दै चिच्याउँदै रुँदै कराउँदै न्यायको भिख मागिन्। उक्त भिडियोको सानो टुक्रा सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो।

उनको एकतर्फी कुरा झट्ट सुन्दा लाग्न सक्छ। वस्तवमै बैंक बित्तीय संस्था बदमास हुन् । नाफा कमाउने नाममा ग्राहकलाई ठग्छन् मात्र ।

भिडियो हेरेर अघिकांसले कुमारी बैंकप्रति नकारात्मक धारणा बनाए पनि।

झट्ट हेर्दा जो–कोहीलाई बैंकले कुनै निर्दोष नागरिकमाथि अन्याय गरेको जस्तो लग्यो। तर, घटनाको वास्तविकता भने अर्कै थियो। वस्तवमा उनी पीडित नभई बैंककी एक डिफल्टर ऋणी थिइन्।

प्राप्त विवरणअनुसार ती महिला कुमारी बैंककी सामान्य बचतकर्ता मात्र होइनन्। उनी ऋणी Voice Mart सञ्चालककी आमा हुन् ।

उनका छोराले व्यवसाय सञ्चालनका लागि कुमारी बैंकबाट झन्डै पाँच करोड रुपैयाँ कर्जा लिएका थिए। उक्त कर्जाका लागि उनका आमा–बुबा स्वयं जमानी बसेका छन्।। अर्थात् ऋणको कानुनी दायित्व केवल छोराको मात्र नभई जमानतकर्ताको पनि हो।

जब ऋण नियमित रूपमा भुक्तानी भएन, त्यो खराब कर्जामा परिणत भयो। त्यसपछि बैंकले प्रचलित कानुन र नियामकीय व्यवस्थाअनुसार धितो लिलामी तथा नन–बैंकिङ एसेट (NBA) प्रक्रिया अघि बढायो।

धितोबाट पनि सम्पूर्ण रकम नउठेपछि जमानतकर्ताको खाताबाट बाँकी रकम असुल गरियो। यो प्रक्रिया बैंकको स्वेच्छाले नभइ बैंकको कानुनी अधिकार र दायित्वभित्र रहेर गरिएको प्राप्त प्रमाणले नै पुष्टी गर्छ।

यदि बैंकले कानुनविपरीत काम गरेको भए त्यसको परीक्षण गर्ने ठाउँ नेपाल राष्ट्र बैंक र अन्तमा अदालत नै हो। ती महिलाले अदालतको ढोका पनि ढकढक्याउन भ्याईन्।

तर अदालतले पनि बैंककै पक्षमा फैसला गर्दै ऋण लिएपछि त्यसको भुक्तानी गर्नु कानुनी दायित्व भएको स्पष्ट गरिदियो। अर्थात् न्यायिक परीक्षणपछि पनि बैंकको प्रक्रिया वैध ठहरियो। तर, उनी रोकिइनन् ।

अदालतबाट हार बेहोरेपछि पनि उनी सार्वजनिक मञ्च, माइतीघर मन्डला र अन्य विभिन्न माध्यममार्फत् बैंक तथा न्यायालयविरुद्ध अभिव्यक्ति दिइरहेकी देखिन्छिन्।

अदालतबाट मुद्दा हारेपछी उनी माइतीघर मन्डलामा धर्ना बस्न थालिन्। विभिन्न संचारमाध्यममा बैंक र आदलतविरुद्ध समेत अभिव्यती दिन थालिन् ।

सोही क्रममा उनी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्ने अभियान चलाउँदै हिँडेका विवादित अभियन्ता दुर्गा प्रासाईको कार्यक्रममा पुगिन् र भनिन् – मलाई कुमारी बैंकले ठग्यो, मेरो श्रीमानको अनुमती बिना लाखौँ पैसा निकाल्यो । मलाई न्याय चाहियो।

रुँदै कराउँदै बैंकलाई गलत र आफूलाई पीडित देखाउन उनी क्यामेराका अगाडि लम्पसार परिन्।

अहिले त्यहीँ तथ्यहीन कहानीको सिनको एउटा सानो पार्टलाई काटेर सामाजिक संजालमा भाईरल बनाइ बैँकबिरुद्ध अफवाह फैलाई रहिएको छ।

यसको अर्थ बैंकहरू त्रुटिहीन छन् भन्ने होइन। बैंकले कानुन मिचेमा नियामक निकाय र अदालतमार्फत उनीहरू पनि कारबाहीको दायरामा आउँछन्। तर, ऋण लिएपछि नतिर्ने, त्यसपछि धितो बिक्री गरि ऋण उठाउन खोज्दा उल्टै ठगिएको भन्दै जनमत बटुल्ने प्रवृत्ति पनि उत्तिकै खतरनाक छ।

बैंकले लगानी गर्ने पैसा बैंकको आफ्नै निजी सम्पत्ति होइन। त्यो त लाखौं निक्षेपकर्ताले आफ्नो रगत–पसिनाको कमाइका रूपमा जम्मा गरेको रकम हो। ऋण नउठ्दा घाटा अन्ततः बैंकलाई मात्र होइन, सम्पूर्ण वित्तीय प्रणाली र निक्षेपकर्तामाथि पर्छ।

त्यसैले ऋण असुलीको कानुनी प्रक्रियालाई “लुट” को रूपमा चित्रित गर्नु वित्तीय अनुशासन एवम् समग्र बैंकिङ प्रणाली माथिको प्रहार हो।

लोकतन्त्रमा विरोध गर्ने, न्याय माग्ने र आवाज उठाउने अधिकार सबैलाई छ। तर, त्यो अधिकार तथ्य र कानुनी यथार्थमाथि आधारित हुनुपर्छ। अन्यथा सहानुभूति बटुल्न बुनिएको भावनात्मक कथाले केही समय सहानुभूति त बटुल्ला, तर त्यसले कानुनी भने दायित्व मेटाउँदैन।

ऋण लिएपछि कुनै पनि हालतमा तिर्नै पर्छ। यो या त्यो बहानामा लाखौं जनताको रकमको दुरुपयोग गर्ने अघिकार स्वयं बैंकलाई पनि छैन।

यी महिला मात्र होइन, ऋण लिने नतिने, धितों लिलाम गरि रकम अशुल्दा बैंकविरुद्ध ठगिएको आरोप लगाउने गरेका अन्य थुप्रै उदाहरण छन् ।

दुर्गा प्रसाईंले चलाएको ‘ऋण नतिर्ने अभियानका कारण बैंक तथा वित्तीय संस्था खराब कर्जाको मारमा परिरहेको बेला यस्ता पात्र र प्रवृत्तिलाई प्रोत्साहन गरिनु आँफैमा दुःखद कुरा हो। किनकी बैंकले प्रवाह गर्ने ऋण रकम बैंकको नभई तपाईं हाम्रो रगत पसिनाको कमाई हो।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १२:५५   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।