Logo

शिक्षा

एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ: ठाकुर गैरे



काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले पार्टीको केन्द्रीय कमिटी बैठक हालसम्म बस्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका विषयक कार्यक्रममा बोल्दै गैरेले गत फागुन २१ गते भएको निर्वाचनपछि हालसम्म केन्द्रीय कमिटी बैठक बस्न नसकेको उल्लेख गरे ।

उनले निर्वाचनको समीक्षा गर्नसमेत बैठक बस्न नसक्नु कम्युनिष्ट पार्टीका लागि विडम्बनापूर्ण अवस्था भएको टिप्पणी गरे । उनले भने,‘फागुन २१ मा चुनाव भएको हो । आज साउनको १० मा छौं । एमाले जस्तो पार्टीको केन्द्रिय कमिटी हुन सकेको छैन । बैठक बसेर किन चुनाव हार्यौं भनेर समीक्षा गर्नुपर्नेछ । तर यो भन्दा बिडम्बना कम्युनिष्ट पार्टीको जीवनमा के हुन सक्छ ?’

त्यसैगरी, गैरेले वर्तमान सरकारको कार्यशैलीप्रति पनि आलोचना गरे । उनले सरकारले नेपाल–भारत सीमा सम्बन्धी विषयमा नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोजिरहेको आरोप लगाए ।

साथै, प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको विषय उल्लेख गरेको दाबी गर्दै त्यसबारे सरकारले स्पष्ट जवाफ नदिएको बताए ।

शिक्षा क्षेत्रको विषय उठाउँदै गैरेले भारतमा आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गरे । नेपालमा भने एमबीबीएसको प्रश्नपत्र चुहावट भएको घटनापछि शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोप लगाए । उनले सरकारले उक्त प्रकरणबाट उम्किन प्रयास गरिरहेको दाबी गरे ।

उनले भने, ‘भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो । नेपालमा पनि एमबीबीएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछ, सरकार उम्किन खोज्दैछ ।’

प्रकाशित मिति : १० श्रावण २०८३, आईतवार १७:१४   :  बजे

180
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।