Logo

समाचार

बाघको संख्या बढाएर मात्र हुँदैन, व्यवस्थापन र संरक्षणमा ध्यान दिनुपर्छ : टोप खत्री



काठमाडौं । नेपालले पछिल्लो एक दशकमा बाघ संरक्षणमा विश्वकै अनुकरणीय सफलता हासिल गरेको छ । कुनै समय लोपोन्मुख अवस्थासम्म पुगेको पाटेबाघ अहिले नेपालका संरक्षित क्षेत्रहरूमा बढेका छन् । सन् २०२२ मा सार्वजनिक राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा बाघको संख्या ३५५ पुगेको छ, जुन दक्षिण एसियामै बाघको संख्या तीन गुणाले वृद्धि गर्ने पहिलो उदाहरण हो।

तर संरक्षणको यो सफलतासँगै नयाँ चुनौतीहरू पनि थपिएका छन्। बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व, बासस्थानमा बढ्दो दबाब, पूर्वाधार विस्तार, चोरी–सिकारी तथा स्थानीय बासिन्दाको सुरक्षाजस्ता विषय अहिले संरक्षणका मुख्य चुनौती बनेका छन्। संरक्षण विज्ञहरू अब बाघको संख्या मात्रै बढाउनु पर्याप्त नभई त्यसको दीर्घकालीन व्यवस्थापनमा जोड दिनुपर्ने बताउँछन् ।

बाघ संसारकै सबैभन्दा प्रतिष्ठित वन्यजन्तुमध्ये एक हो। पारिस्थितिक प्रणालीमा यसलाई शीर्ष शिकारी मानिन्छ। बाघले वनभित्र रहेका अन्य जनावरहरूको संख्या सन्तुलित राख्ने भएकाले सम्पूर्ण खाद्य शृंखला र वन प्रणालीको सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

वन्यजन्तु विज्ञहरूका अनुसार बाघलाई छाता प्रजातिपनि भनिन्छ । अर्थात् बाघको संरक्षण गर्न सकियो भने त्यसको बासस्थानभित्र रहेका सयौँ अन्य वनस्पति तथा वन्यजन्तु स्वतः सुरक्षित हुन्छन् ।

यसका अतिरिक्त बाघ नेपालको पर्यटन उद्योगको प्रमुख आकर्षणसमेत हो । विशेषगरी चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ अवलोकनका लागि आउने विदेशी पर्यटकले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने गरेका छन्।

नेपालमा बाघको अवस्था

नेपाल विश्वका ती १३ देशमध्ये एक हो जहाँ प्राकृतिक रूपमा बाघ पाइन्छ । बाघ मुख्यतः तराईका वन क्षेत्रमा पाइन्छन्। चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझाडी वन क्षेत्र बाघको प्रमुख बासस्थान हुन् ।

सन् २०२१ मा गरिएको राष्ट्रिय बाघ गणनाको नतिजा सन् २०२२ मा सार्वजनिक गरिएको थियो। त्यसअनुसार नेपालमा कुल ३५५ वटा बाघ रहेका छन्। त्यसमध्ये सबैभन्दा धेरै १२८ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्। त्यसपछि बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ छन् ।

सन् २०१० मा नेपालमा करिब १२१ वटा मात्रै बाघ थिए। त्यसयता संरक्षणका प्रभावकारी कार्यक्रमका कारण संख्या उल्लेखनीय रूपमा बढेको हो। नेपालले विश्वव्यापी रूपमा तय गरिएको ‘टीएक्स–२’ लक्ष्यभन्दा पनि राम्रो उपलब्धि हासिल गरेको मानिन्छ।

संरक्षण सफल हुनुका कारण

नेपालमा बाघ संरक्षणको सफलतामा सरकारी निकाय, नेपाली सेना, संरक्षण साझेदार संस्था, स्थानीय समुदाय तथा मध्यवर्ती क्षेत्रका उपभोक्ताहरूको संयुक्त प्रयासलाई मुख्य आधार मानिन्छ।

बासस्थान संरक्षण, चोरी–सिकारी नियन्त्रण, वैज्ञानिक अनुसन्धान, नियमित अनुगमन तथा समुदायको सक्रिय सहभागिताले बाघ संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल भएको वातावरण तथा बन्यजन्तु संरक्षण विज्ञ टोप खत्री बताउँछन् ।

सरकारले बाघ संरक्षण कार्ययोजना तथा तराई आर्क ल्यान्डस्केप रणनीतिअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यससँगै क्यामेरा ट्र्याप, स्याटेलाइट टेलिमेट्री, रेडियो कलर, डीएनए विश्लेषण तथा आधुनिक सूचना प्रविधिको प्रयोगबाट बाघको गतिविधि अध्ययन र निगरानी भइरहेको छ ।

संरक्षण विज्ञ खत्रीका अनुसार वैज्ञानिक अनुसन्धानबिना बाघ संरक्षण प्रभावकारी हुन सक्दैन।

स्याटेलाइट टेलिमेट्रीबाट बाघको आवतजावत, बासस्थानको प्रयोग, शिकार गर्ने क्षेत्र तथा मानिससँगको सम्पर्कको अवस्था अध्ययन गर्न सकिन्छ। यसले जोखिमयुक्त क्षेत्र पहिचान गर्न र सम्भावित द्वन्द्व रोक्न मद्दत पुर्याउँछ।

जलवायु परिवर्तन, वन विनाश तथा पूर्वाधार विस्तारले बाघको प्राकृतिक बासस्थानमा पार्ने प्रभावबारे अध्ययन गर्न पनि वैज्ञानिक अनुसन्धान आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

सफलतासँगै बढ्दै चुनौती

वातावरण तथा वन्यजन्तु संरक्षण विज्ञ टोप खत्री नेपालले हासिल गरेको उपलब्धिलाई विश्वकै उत्कृष्ट संरक्षण सफलतामध्ये एक मान्छन्।

उनका अनुसार नेपालमा बाघ, गैँडा, हात्ती तथा अन्य वन्यजन्तुको संरक्षण सन्तोषजनक अवस्थामा पुगेको छ ।

उनले भने, ‘सरकार, स्थानीय समुदाय, संरक्षण साझेदार तथा नेपाली सेनाको संयुक्त प्रयासले संरक्षण सफल भएको हो। यही कारण वन्यजन्तुको संख्या बढेको छ।’

उनका अनुसार नीतिगत रूपमा नेपालले सही दिशा अपनाएकै कारण यस्तो उपलब्धि हासिल भएको हो।

‘नीति कमजोर भएर होइन, राम्रो नीति भएकै कारण बाघको संख्या बढेको हो,’उनले भने।

मानव–वन्यजन्तु द्वन्द्व किन बढ्दै छ ?

खत्रीका अनुसार अहिले देखिएको मुख्य चुनौती बाघको संख्या होइन, त्यसको व्यवस्थापन हो ।

उनले भने, ‘पहिला वन धेरै थियो, वन्यजन्तु कम थिए, मानिस पनि कम थिए । अहिले मानिस पनि बढेका छन्, वन्यजन्तुको संख्या पनि बढेको छ । त्यसैले केही क्षेत्रमा समस्या देखिएको हो ।’

विशेषगरी मध्यवर्ती क्षेत्रमा बाघ र हात्तीको गतिविधि बढ्दा स्थानीय बासिन्दा जोखिममा पर्ने गरेका छन् । कतिपय अवस्थामा पशुधनमा आक्रमण हुने गरेको छ भने कहिलेकाहीँ मानिसले पनि ज्यान गुमाउने घटना भएका छन् । तर उनले यसलाई संरक्षणको असफलता नभई व्यवस्थापनको चुनौतीका रूपमा लिनुपर्ने बताए ।

खत्रीका अनुसार सबै बाघ मानिसमाथि आक्रमण गर्ने प्रकृतिका हुँदैनन्।

उनले भने, ‘स्वस्थ बाघ जंगलभित्रै बस्न चाहन्छ । उसलाई आवश्यक बासस्थान र आहार जंगलमै उपलब्ध हुन्छ ।’

उनका अनुसार वृद्ध, घाइते वा अन्य शक्तिशाली बाघसँग प्रतिस्पर्धामा परेका बाघ मात्रै जंगलको किनारातिर आउने सम्भावना बढी हुन्छ ।

यस्ता बाघले प्राकृतिक रूपमा शिकार गर्न नसकेपछि पशुधनमा आक्रमण गर्ने र दुर्लभ अवस्थामा मानिसमाथि पनि आक्रमण गर्न सक्ने उनले बताए।

उनले भने, ‘बाघ सिधै जंगलभन्दा बाहिर आउँदैन। किनभने उसलाई पुग्ने बास, गास सबै भित्रै नै व्यवस्थापन हुन्छ । अलिकति वृद्ध भएकाले, पुराना ठूला बाघहरुले धकेल्दै छेउछाउ आउने हुन् । अनि छेउछाउ आउने बेलामा पशुचौपाया, पशुधनहरुलाई अट्याक गर्न सक्ला । कुनै बाघहरु घाइते अवस्थामा हुनसक्छन्, जसले प्राकृतिक हिसाबले शिकार गर्न सक्दैनन् । त्यस्तो अवस्थामा उनीहरूको सजिलो उपाय भनेको चौपायाहरु, पशुधनहरुमा अट्याक गर्छन्। कहिलेकाहीँ त्यसमा मानिसहरू पनि पर्न सक्छन्। सबै अवस्थामा बाघलाई हामीले दोष दिन मिलेन।’

खत्रीका अनुसार सरकारले राहत कार्यक्रम सञ्चालन गरेपनि अझै पर्याप्त हुन सकेको छैन।

‘वन्यजन्तु संरक्षणमा सफलता प्राप्त भएपछि त्यसबाट प्रभावित हुने स्थानीय समुदायलाई उचित राहत र क्षतिपूर्ति दिनुपर्छ,’ उनले भने, ‘कतिपय अवस्थामा जनावरहरु बाहिर आएर पनि मान्छेहरुलाई क्षति पुर्याउने गरेको छ । अब हाम्रा प्रयासहरु त्यसलाई कम गर्ने र जोखिमबाट मान्छेलाई बचाउनुपर्ने कार्यक्रमहरु लागु गर्नुपर्छ।’

उनका अनुसार राज्यको आर्थिक अवस्था कमजोर भएकाले राहत पर्याप्त हुन नसकेको भए पनि आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।

उनले जनधनको क्षति भएका परिवारलाई समयमै क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिए।

आधुनिक प्रविधिको प्रयोग आवश्यक

बढ्दो चुनौती समाधानका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने खत्रीको सुझाव छ ।

उनले ड्रोन, रेडियो कलर, जीपीएस ट्र्याकिङ तथा स्याटेलाइट निगरानीको प्रयोग बढाउनुपर्ने बताए।

‘समस्या सिर्जना गर्ने बाघलाई पहिचान गरी रेडियो कलर लगाएर निगरानी गर्नुपर्छ। आवश्यक परे त्यस्ता बाघलाई उद्धार गरी होल्डिङ सेन्टरमा राख्न सकिन्छ,’ उनले भने।

चोरी–सिकारी अझै जोखिम

नेपालले चोरी–सिकारी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरे पनि खतरा पूर्ण रूपमा हटेको छैन । नेपाल भारत र चीनबीचको महत्त्वपूर्ण ट्रान्जिट क्षेत्र भएकाले वन्यजन्तु अपराध नियन्त्रण अझै चुनौतीपूर्ण छ।

खत्रीका अनुसार नेपालमा जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा स्थानीय समुदायबीच समन्वयात्मक संयन्त्र बनेको छ।

मध्यवर्ती क्षेत्रका समुदाय तथा एन्टी–पोचिङ युनिटहरूले सूचना संकलन गरी सम्बन्धित निकायलाई उपलब्ध गराउने गरेका छन्।

‘संयन्त्र निकै बलियो छ । स्थानीय समुदायबाट प्राप्त सूचनाका आधारमा धेरै चोरी–सिकारी पक्राउ परेका छन्। सीमापार अपराध पूर्ण रूपमा रोक्न अझै चुनौती बाँकी छ,’ उनले बताए।

यद्यपि सीमापार हुने अवैध वन्यजन्तु व्यापार रोक्न अझै क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

विज्ञहरूका अनुसार अब नेपालले बाघको संख्या बढाउने लक्ष्यभन्दा पनि स्वस्थ र दिगो बाघ व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ।

बाघको बासस्थानलाई जोड्ने जैविक मार्ग (ध्ष्मिषिभ ऋयचचष्मयच) संरक्षण, पूर्वाधार निर्माण गर्दा वन्यजन्तु मैत्री संरचना, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, स्थानीय समुदायको सहभागिता, पर्याप्त राहत तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याइएको छ।

जलवायु परिवर्तनका कारण बासस्थानमा आउने परिवर्तन, रोगको संक्रमण तथा खाद्य अभावजस्ता नयाँ चुनौतीका विषयमा पनि वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिनुपर्ने विज्ञ खत्रीको सुझाव छ।

नेपालले बाघ संरक्षणमा हासिल गरेको सफलता अन्तर्राष्ट्रिय स्तरमै प्रशंसनीय उपलब्धि हो। एक दशकमै बाघको संख्या तीन गुणाले बढ्नु संरक्षणका लागि सरकार, स्थानीय समुदाय, नेपाली सेना र संरक्षण साझेदारबीचको प्रभावकारी सहकार्यको परिणाम हो।

तर संरक्षणको सफलता नयाँ चुनौतीसँगै आएको छ। बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व, बासस्थान व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण, प्रविधिमैत्री निगरानी तथा प्रभावित समुदायलाई राहत उपलब्ध गराउने विषय अब संरक्षणको केन्द्रमा छन्।

खत्रीका अनुसार आगामी दिनमा संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्दै वैज्ञानिक अनुसन्धान, प्रविधिको प्रयोग र स्थानीय समुदायको विश्वासलाई थप मजबुत बनाउन सके नेपालले बाघ संरक्षणको विश्वव्यापी नेतृत्वलाई अझ प्रभावकारी रूपमा कायम राख्न सक्नेछ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार १०:४२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।