काठमाडौं। गत आइतबार राती सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समुदायबीचको घटना नियन्त्रणका क्रममा गोली लागेर मृत्यु भएका पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। गत साउन १० गते गोली लागेर ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
मृतकका परिवार र गृहमन्त्री सुधन गुरुङले आज सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार सरकारले मृतकद्वयलाई सहिद घोषणा गर्ने प्रकृया तत्काल अगाडि बढाउनेछ। मृतकका परिवारलाई १० लाख सरकारले उपलब्ध गराउनेछ।
यस्तै, साउन १० गते राती देवानगञ्ज–३. कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाइनेछ।
देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ।
प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराइनेछ।
घटना अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरु प्रचलित कानून बमोजिम यथाशिघ्र कार्यान्वयनका लागि आवश्यक प्रकृया अगाडि बढाउने सहमति भएको छ।
मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्नेछ।
सरकारसँगको सहमतिअनुसार मृतृकद्वयको आजै अन्तिम संस्कार गरिनेछ।
सम्झौतामा मृतक ओमप्रकाशका अभिभावक, मृतक जयप्रकाशका अभिभावक नरेश मेहता र गृहमन्त्री सुधनले हस्ताक्षर गरेका थिए।





















प्रतिक्रिया