काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाको पक्षमा आफू नरहेको पुनः स्पष्ट बताएका छन्।
शुक्रबार मधेशकेन्द्रित दलका नेताहरूसँग भएको छलफलमा उनले हिन्दू राष्ट्रको मुद्दासँग राजतन्त्र जोडिएर आउने भएकाले अहिले त्यो उपयुक्त विकल्प नभएको धारणा राखेका हुन्।
जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माका अनुसार प्रधानमन्त्री शाहले ‘हिन्दू राष्ट्र आएपछि राजा पनि जोडिएर आउँछ, अहिले त्यसो गर्नु ठीक हुँदैन’ भन्दै संघीयताप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याएका थिए। उनले संघीय व्यवस्थालाई कमजोर बनाउने कुनै पनि कदमको पक्षमा सरकार नरहेको संकेत दिएका थिए।
बैठकमा सहभागी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पनि प्रधानमन्त्री शाह र उनको दल संघीयताको पक्षमा दृढ रहेको बताएका बताए।
छलफलका क्रममा मधेशमा देखिएको साम्प्रदायिक तनाव, धार्मिक सद्भाव र विभिन्न आन्दोलनका विषयमा समेत कुराकानी भएको थियो।
प्रधानमन्त्री शाहले केही समूहहरूले साम्प्रदायिक द्वन्द्व भड्काएर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उल्लेख गर्दै त्यसविरुद्ध सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका थिए। साथै, छानबिन प्रतिवेदनमा दोषी देखिएकामाथि कारबाही हुने र पीडितसँग भएका सम्झौताहरू कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।
मधेशकेन्द्रित दलका नेताहरूले गृहमन्त्रीस्तरमा भएका पूर्वसम्झौताहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
करिब दुई घण्टासम्म चलेको छलफलमा मधेशका समसामयिक राजनीतिक, सामाजिक तथा साम्प्रदायिक विषयहरूबारेमा समेत विस्तृत संवाद भएको बताइएको छ।




















प्रतिक्रिया