Logo

समाचार

निर्मल पुर्जासहितका पर्वतारोहीको निधनप्रति नेकपा (एमाले)द्वारा गहिरो दुःख व्यक्त



काठमाडौं । नेकपा (एमाले)ले विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’ सहितका पर्वतारोहीहरूको निधनप्रति गहिरो दुःख र शोक व्यक्त गरेको छ । पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा परी उनीहरूले ज्यान गुमाएको खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको एमालेले जनाएको छ ।

पार्टीका महासचिव शंकर पोखरेलद्वारा जारी शोक वक्तव्यमा पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरू ६ महिना ६ दिनमा आरोहण गरी नेपालको नाम विश्वसामु उच्च राख्न सफल नायक निर्मल पुर्जा र उनका साहसी सहयात्रीहरूको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।

हिमपहिरोमा परी ज्यान गुमाउनेहरूमा निर्मल पुर्जासँगै पूर्वबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, न्वाङ थिण्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् । एमालेले मृतक पर्वतारोहीहरूलाई ‘राष्ट्रका अमूल्य राष्ट्रिय धरोहर’ र ‘साहसी सन्तति’ को रूपमा चित्रण गर्दै उनीहरूले विश्वलाई साहस र सङ्कल्पको पाठ सिकाएको बताएको छ ।

वक्तव्यमा भनिएको छ,‘यो नेपालको पर्वतारोहण इतिहासमा एउटा स्वर्णिम अध्यायको दुःखद अन्त्य हो ।’ एमालेले दिवङ्गत निर्मल पुर्जा लगायत सम्पूर्ण पर्वतारोही सहयात्रीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

शोकको यस कठिन घडीमा एमालेले आफ्ना प्रियजन गुमाएका शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दै उनीहरूलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आईतवार ११:००   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।